वाटसन र डु प्लेसीले कीर्तिमानी साझेदारी गर्दा चेन्नाईको शानदार जित

NAWALPUR TIMES

वाटसन र डु प्लेसीले कीर्तिमानी साझेदारी गर्दा चेन्नाईको शानदार जित
1601848420844

आईपीएल २०२० अन्तर्गत १८ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले किंग्स-११ पन्जाबलाई १० विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पराजित गरेको चेन्नाईले त्यसपछि लगातार ३ खेल हार्ने क्रममा राजस्थान, दिल्ली र हैदरावादसंग पराजित भएको थियो। पन्जाबको लिगमा यो लगातार तेश्रो हार हो। पन्जाब पहिलो खेलमा दिलिसंग सुपर ओभरमा पराजित भएपछि बैंगलोरलाई दोश्रो खेलमा ९७ रनले पराजित गरेता पनि त्यसपछि राजस्थान र मुम्बईसंग पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १७९ रनको लक्ष्य चेन्नाईले विकेट नगुमाई १७.४ ओभरमै पुरा गरेको हो।

चेन्नाईको जितमा ओपनर शेन वाटसन र फाफ डु प्लेसीले उत्कृस्ट प्रदर्शन गरे। वाटसनले सिजनको पहिलो अर्धशतक बनाउने क्रममा अविजित ८३ रन बनाए भने डु प्लेसीले सिजनको तेश्रो अर्धशतक बनाउने क्रममा अविजित ८७ रन बनाए। वाटसनले ५३ बलमा ११ चौका र ३ छक्का तथा डु प्लेसीले ५३ बलमा ११ चौका र १ छक्का हिर्काए। आईपीएलमा वाटसनको यो २० औं तथा डु प्लेसीको १५ औं अर्धशतक हो।

वाटसन र डु प्लेसीले पहिलो विकेटको लागि १८१ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए

वाटसन र डु प्लेसीले यस क्रममा नयाँ कीर्तिमान समेत कायम गरे। पहिलो विकेटको लागि १८१ रनको साझेदारी चेन्नाईको आईपीएल इतिहासकै पहिलो विकेटको लागि सर्वाधिक साझेदारी हो। मुरली विजय र माइक हसीले २०११ मा बैंगलोर बिरुद्ध गरेको १५९ रनको पहिलो विकेटको साझेदारीको रेकर्ड ९ वर्ष पछि टुटेको हो।

यस्तै लिग इतिहासमै कुनै पनि टिमले १० विकेटले खेल जित्दा यो दोश्रो सबैभन्दा ठूलो साझेदारी हो। गौतम गम्भीर र क्रिस लिनले २०१७ मा गुजरात बिरुद्ध कोलकातालाई १० विकेटको जित दिलाउने क्रममा १८४ रनको साझेदारी गरेका थिए। सचिन तेन्दुलकर र ड्वेन स्मिथले गरेको १६३ रनको साझेदारीको रेकर्ड भने वाटसन र डु प्लेसीले तोडे।

लिगमा यस अघि ४ खेलमा मात्र ५२ रन बनाएका वाटसनले शानदार पुनरागमन गरेका हुन्। शानदार लयमा रहेका डु प्लेसीले यस अघि मुम्बई र राजस्थान बिरुद्ध अर्धशतक बनाएका थिए।

पन्जाबका सम्पूर्ण बलरहरु विकेटविहिन रहे। रभी बिस्नोइ ( ४-०-३३-० ) , हरप्रित ब्रर ( ४-०-४१-० )  शेल्डन कटरेल ( ३-०-३०-० ) , क्रिस जोर्डन ( ३-०-४२-० ) तथा मोहम्मद शामी ( ३.४-०-३५-० ) को विकेट लिने प्रयास असफल रह्यो।

पन्जाबको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो।

पन्जाबको लागि कप्तान केएल राहुलले उत्कृस्ट फर्म कायम राख्ने क्रममा सर्वाधिक ६३ रन बनाए। उनले ५२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। उनलाई १८ औं ओभरमा शार्दुल ठाकुरले विकेटकिपर धोनीबाट क्याच आउट गराएका थिए।

निकोलस पुरनले १७ बलमा ३३ ( १ चौका र ३ छक्का ), मन्दिप सिंहले १६ बलमा २७ ( २ छक्का ) तथा मायाँक अग्रवालले १९ बलमा २६ ( ३ छक्का ) रन बनाए। सरफराज खान र ग्लेन म्याक्सवेलले क्रमशः अविजित १४ रन ११ रन बनाए।

शार्दुल ठाकुरले ६३ रन बनाएका केएल राहुलको विकेट लिएपछिको खुसि

राहुलले पहिलो विकेटको लागि अग्रवालसंग ६१, दोश्रो विकेटको लागि मन्दिप सिंहसंग ३३ तथा तेश्रो विकेटको लागि निकोलस पुरनसंग ५८ रनको साझेदारी गरे।

पुरन र केएल राहुलको साझेदारीले पन्जाब ठूलो योगफलतर्फ अघि बढी रहेको अवस्थामा शार्दुल ठाकुरले पुरन र राहुललाई १८ औं ओभरमा लगातार आउट गर्दै चेन्नाईलाई खेलमा फर्काएका थिए।

पुरन र राहुलको विकेटपछि सरफराज खान र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि १६ बलमा अविजित २६ रनको साझेदारी गरे।

डेथ ओभरमा राम्रो बलिंग गर्ने क्रममा चेन्नाईले अन्तिम ५ ओभरमा ४८ रन खर्चेर २ विकेट हात पार्यो।

चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। रभीन्द्र जडेजा ( ४-०-३०-१ ) र पियुष चावलाले ( २-०-२२-१ ) समान १ विकेट लिए। दिपक चाहर ( ३-०-१७-० ) , स्याम करन ( ३-०-३१-० ) र ड्वेन ब्राभो ( ४-०-३८-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि चेन्नाई ५ खेलमा २ जित र ३ हार सहित ४ अंक बटुल्दै पुछारबाट अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान नेट रनरेटमा अघि रहँदै चौथो र पाँचौ स्थानमा रहेको छ। ४ अंकनै रहेको हैदरावाद सातौँ स्थानमा छ। हारपछि पन्जाब ५ खेलमा १ जित र ४ हार सहित २ अंक सहित पुछारमा पुगेको छ।

चेन्नाईले आगामी खेल बुधबार अबुधाबीमा कोलकाता नाइट राइडर्स बिरुद्ध तथा पन्जाबले पनि कोलकाता बिरुद्ध शनिवार आगामी खेल खेल्ने तालिका रहेको छ।

लिग अन्तर्गत सोमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल ७:४५ बजे राती सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology