बीपीमा नर्सका लागि नेकपाले सिफारिस गर्‍यो १९ जनाको नाम

NAWALPUR TIMES

बीपीमा नर्सका लागि नेकपाले सिफारिस गर्‍यो १९ जनाको नाम
IMG 20200909 152418

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ। प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५० जना नर्सलाई भर्ती गर्न विज्ञापन खुलाइएको थियो।  त्यसमध्ये १९ जनाको नाम नेकपाले सिफारिस गरेको हो।

 

 

 

सरकारी संस्थाले पदपूर्तिका लागि विज्ञापन खुलाए पश्चात परीक्षा समिति गठन गरी लिखित परीक्षा संचालन गर्नुपर्ने र लिखित परीक्षामा उर्तिण भएका उमेद्वारलाई मौखिक परीक्षामा सामेल गराई छनोट गर्नुपर्ने लोकसेवा आयोगका प्रावधान छ। तर, प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा लिखित परीक्षा नै संचालन नगरी फाराम भरेका उमेद्वारलाई मौखिक परीक्षा मात्र लिएको छ। मौखिक परीक्षा अर्थात् अन्तवार्ता सोमबार सकिएको छ।

नर्सको मौखिक परीक्षा सकिने बित्तिकै नेकपा सुनसरीका नेताले छलफल गरेर परीक्षामा सामेल भएका १९ जनाको नाम प्रतिष्ठानका रजिष्ट्रारलाई सिफारिस गरेका छन्। नेकपाले सिफारिस गरेका १९ नर्सको नाम लिष्ट सार्वजनिक भएको छ। नेकपाले स्टार्फ नर्स भर्तीका लागि प्रतिष्ठानका पदाधिकारीलाई दबाब दिएपपछि अन्तिम नतिजा निष्पक्ष हुनेमा अन्य उमेद्वारले शंका गरेका छन्।

नेकपा सुनसरीले धरान उपमहानगरपालिका १५ का वडाअध्यक्ष नरेश इवारामकी छोरी नयन इवारामको नाम स्टाफ नर्सका लागि नम्बर १ मा सिफारिस गरेको छ। त्यस्तै अनुमा लिम्बु (३६६), विद्या खनाल (३९२), आस्था विश्वकर्मा (२३), आस्था मग्राती (१७०), मोनिका कट्वाल(४०३), कविता भुजेल (२११) रोल नम्बर भएका उमेद्वारलाई नेकपाले सिफारिस गरेको छ।
त्यस्तै सुप्रिया खड्का(४), आस्था चौधरी (२७१), सन्जु राई (३७१), चन्द्रकला तामाङ (२४), रमिला मग्राती (१८७), मेरिना लिम्बु (८६), सारा गुरुङ (१५७), जुनु राई (१६४), लिजा कालिकोटे (२२), उज्जलता कट्वाल (५९), कुस्मा भट्टराई (१८६), सविना लामा (१९४) लाई स्टाफ नर्स भर्तीका लागि नाम सिफारिस गरिएको छ।

नेकपा धरानका सचिव सुदर्शन श्रेष्ठले पार्टीका साथीसंग सल्लाह गरेरै स्टाफ नर्स भर्तीका लागि १९ जनाको नाम सिफारिस गरिएको स्वीकार गरेका छन्।

प्रतिष्ठानका रजिष्ट्रार मोहन चन्द्र रेग्मीले १९ जनाको नाम सामाजिक संजालमा देखेको भए पनी यस पटकको परीक्षा निष्पक्ष रुपमा संचालन गरिएको बताए। उनले स्टाफ नर्सको अन्तिम नतिजा योग्यता र दक्षताका आधारमा प्रकाशित हुने बताए। नेताले कुनै दबाब नदिएको उनको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology