महामन्त्री कोईरालाद्वारा मधु स्मृति ग्रन्थ विमोचन, सालिक अनावरण र मधु प्रवेशद्वार उद्घाघाटन

NAWALPUR TIMES

महामन्त्री कोईरालाद्वारा मधु स्मृति ग्रन्थ विमोचन, सालिक अनावरण र मधु प्रवेशद्वार उद्घाघाटन
1605010522817

प्रेम क्षेत्री/कार्तिक २५, गैंडाकोट । गैंडाकोटका सामाजिक, राजनीतिक एवं धार्मिक व्यक्तित्व स्व.मधुविलास रिमालको स्मृतिमा मंगलबार मधु स्मृति ग्रन्थ विमोचन, सालिक अनावरण र मधु प्रवेशद्वार उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधी सभा सदस्य डा. शशांक कोईरालाले ग्रन्थको विमोचन, सालिक अनावरण र मधु प्रवेशद्वार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले स्व. रिमालले यहाँको सामाजिक विकास, राजनीतिमा खेलेको भुमिकाको प्रशंसा गर्दै उनिहरुले देखाएको मार्गमा हिंडन सके समुन्नत समाज बन्ने बताउनुभयो । हरेक व्यक्तिमा कुनै न कुनै गुण हुने र त्यो समाजका लागि प्रेरणादायी हुने उहाँको भनाई थियो । राजनैतिक प्रसंगमा उहाँले आफुहरु प्रतिपक्षमा रहेका कारण यस क्षेत्रमा सोचजस्तो विकास निर्माण कार्य गर्न नसकेको तर निरन्तर प्रयास गर्ने बताउनुभयो । आफुले गरेको बाचा पुरा गरेरै छोड्ने उहाँले बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पञ्चायती काल खण्डमा पनि निरन्तर पार्टी प्रति अडिग बफादर योद्धा पार्टीले गुमाएको भन्दै चर्चा गर्नुभएको थियो । उहाँको योगदान पार्टीका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो । नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले स्व. रिमालका असल कर्महरु जीवन्त रहेको उल्लेख गर्नुभयो । उहाँका सन्तती सत्मार्गमा रहेको उहाँको कमी महशुस हुन नदिन आग्रह गर्नुभयो । संविधान सभा सदस्य कृष्ण पौडेलले नेताको नाम बेचेर खाने दिन गए भन्दै अब आफैं कर्म गर्नुपर्ने र जनताले देख्नेगरि काम गर्न आवश्यक रहेको बताउनुभयो ।


स्वर्गारोहणको १०औं वार्षिक पुण्यतिथिमा मधु स्मृति फाउण्डेशनले प्रकाशनमा ल्याएको १३६ पृष्ठको ग्रन्थमा स्व. रिमालले पु¥याएको योगदान ४२ शिर्षकमा लेख, रचना तथा अन्र्तवार्ता समावेश गरिएको छ । स्व. रिमालले २०४३ सालमा गाउँ पञ्चायत समिति सदस्य, वि.स. २०५१ मा गाउँ विकास समितिको वडा सदस्य, नेपाली कांग्रेसको वडा उप सभापति भएर भुमिका निर्वाह गर्नुभएको छोरा एवं फाउण्डेशनका सदस्य गोविन्द रिमालले जानकारी दिनुभयो । सामाजिक, धार्मिक एवं राजनीतिक व्यक्तित्व मधुविलास रिमालको वि.सं २०६७ कार्तिक १५ गते ६१ वर्षको उमेरमा निधन भएको थियो ।

मधु स्मृति ग्रन्थका प्रमुख संरक्षक खरीमाया रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नगर अध्यक्ष षडानन्द लामिछाने, कांग्रेस जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, क्षेत्रिय सभापति द्रोण वन लगायत नेता, कार्यकता, स्थानीय तथा परिवारका आफन्तजनको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रममा परिवारका तर्फबाट शंकरनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology