समानुपातिकतर्फ काँग्रेसमा ३ जना मात्रै पुरुष छनोट

NAWALPUR TIMES

समानुपातिकतर्फ काँग्रेसमा ३ जना मात्रै पुरुष छनोट
1614926923 nepali congress mx3xCT37Q5

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाम मात्र छनोट गरेको छ ।

प्रत्यक्षतर्फ कुल एक सय ६५ सिटमध्ये काँग्रेसका एक महिला मात्र निर्वाचित भएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गर्नु परेको हो ।

काँग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सह महामन्त्री जीवन परियारले जानकारी दिए । काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खस आर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काँग्रेसबाट एक जना महिला मात्र निर्वाचित हुनुभएको र राष्ट्रियसभा हाल काँग्रेसका दुई महिला सदस्य मात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट काँग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ ।

यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी जोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राज भण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ ।

दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन भएका छन् भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ ।

 

 

अबको प्रक्रिया के हो त ?


निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो । शनिवारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगे/नपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुने छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology