मोबाइलका कारण दुई नाबालकद्वारा दम्पतीको हत्या

NAWALPUR TIMES

मोबाइलका कारण दुई नाबालकद्वारा दम्पतीको हत्या
Untitled 1 VH4SEsU6UE

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो।

वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो। तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए। त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे। सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ। ब्युरोका प्रहरी निरीक्षक  सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन्।

उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्दथे । वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बसेका थिए एकमात्र छोरीको विवाह भइसकेको छ। दम्पतीको हत्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए। सँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा लडिरहेको अवस्थामा देखे। विष्णुबहादुरको शव देखेपछि आत्तिँदै उनले गाउँलेलाई खबर गरे। गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र लडिरहेकी थिइन्। यो घटना २४ गते बिहान करिब साढे सात बजेको थियो।

बीभत्स हत्या देखेर आत्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो। तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चोरी भएको घटनाको जानकारी पायो। सोही जानकारीका आधारमा ती दुईसहित शङ्कास्पद पाँच जनालाई पक्राउ गर्यो। थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले हत्या गरेको र हत्यामा बन्चरो प्रयोग गरेको स्वीकारेका छन्। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology