नारायणघाट बुटवल सडक बिस्तारको काम थपिएको समयमा पनि नसकिने

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ १६ गते १७:३८
नारायणघाट बुटवल सडक बिस्तारको काम थपिएको समयमा पनि नसकिने
निर्माणाधिन नारायणघाट बुटवल सडक

कावासोती । नारायणघाट बुटवल सडक बिस्तारको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले थपिएको समयमा समेत काम सम्पन्न गर्न नसक्ने भएको छ ।

२०८१ को मङ्सिर २५ गतेभित्र एकतर्फी ७० प्रतिशत कालोपत्रे गर्नुपर्ने र सन् २०२५ को मार्च मसान्त अर्थात् वि.सं. २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने सर्तमा २०८२ साउन ८ सम्मको म्याद थप पाएको निर्माण कम्पनीले सुरुका चार महिना काम नगर्दा सर्त अनुसार काम सम्पन्न नहुने पक्कापक्की भएको हो ।

पहिलो सर्त गुज्रिसकेको छ । वि.सं. २०८१ को चैत्र १७ गते भित्र नारायणघाटदेखि बुटवलसम्म एकतर्फी सबै कालोपत्र गरिसक्नु पर्ने दोस्रो सर्तअनुसार पनि काम नसकिने ठेकेदार कम्पनीले बताइसकेको छ । ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजन राकेश झाले सर्त अनुसार काम नसकिने बताए ।

म्याद थप भए पछि पहिलो ४ महिना निर्माण कम्पनी सँग पैसा अभाव भएकै कारण काम गर्न नसकिएको र अहिले चीनबाट पैसा आए पछि कामलाई तिब्रता दिएको बताएका झाले सडक विस्तार सुरु भएको ६ वर्ष यताकै सबैभन्दा रफ्तारमा काम भइरहेको दाबी गरे ।

झाका अनुसार अग्रेजी महिना जुन सम्ममा हरेक हप्ता एक किलोमिटरका दरले बाटो कालोपत्रे गर्ने तथा आउदो वर्षा अगाडी दाउन्ने बाहेकका स्थानमा एक तर्फी कालोपत्र गर्ने गरेर पूर्वी खण्डमा ६ सय ५० र पश्चिम खण्डमा पाँच सय कामदार खटाएर काम अगाडि बढाईएको हो ।

कम्पनीले अहिले नारायणघाटदेखि बुटवल सम्म १४ स्थानमा कालोपत्रेको तयारी भइरहेको जनाएको छ । यहि गतिमा काम भएमा अवको एक महिनामा देखिने गरी भौतिक प्रगती हुने सडक आयोजना पुर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।

यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । १ सय १३ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४ सय ६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर ६ वर्ष बित्दा ५४ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुबै खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ छ ।

प्रकाशित : २०८१ माघ १६ गते १७:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI