पत्रकार महासंघ नवलपुरको चौथो साधारण सभा सम्पन्न, चार जना क्रियाशिल पत्रकार पुरस्कृत

NAWALPUR TIMES

पत्रकार महासंघ नवलपुरको चौथो साधारण सभा सम्पन्न, चार जना क्रियाशिल पत्रकार पुरस्कृत

कावासोती ।  नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौँथो वार्षिक साधारण सभामा चार जना क्रियाशिल पत्रकार पुरस्कृत भएका छ्न ।

आईतबार सम्पन्न शाखाको चौथो साधारणसभामा पत्रकार महासंघ नवलपुर शाखाले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट विजय एफएमका स्टेसन म्यानेजर श्रीधर उपाध्याय, शाखाका निवर्तमान अध्यक्ष विरेन्द्र पराजुलीले स्थापना गर्नु भएको स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार धनू भूषाल, त्यस्तै युवा उद्यमी तथा पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको नाममा स्थापना गर्नुभएको भिमकुमारी–ढुण्डिराज स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पत्रकार बोमलाल गिरी पुरस्कृत भएका हुन ।

यस्तै, नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ नवलपुर शाखाका सचिब आशिष रेग्मीले जानकारी दिए । पराजुली २०५६ सालदेखि नवलपुर तथा साविक नवलपरासी क्षेत्रमा विभिन्न सञ्चारमाध्यममार्फत सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका छन् ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने लगायतका कार्यमार्फत प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य केबी राना, गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष नारायण शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, निवर्तमान अध्यक्ष विरेन्द्र पराजुली, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, सन्चार विज्ञ डा. भुमिराज चापागाई, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका सभापति खगराज सापकोटा, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष तीर्थराज डुम्रे तथा प्रेस सेन्टर नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, सचिवको संगठनात्मक प्रतिवेदन तथा अध्यक्षको प्रतिवेदन अनुमोदन गरेको महासंघका सचिव आशिष रेग्मीले  जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology