नवलपुर । देवचुली नगरपालिकामा सञ्चालन भएको माध्यमिक तहको परीक्षामा प्रश्नपत्र गोपनीयता भंग भएको घटनामा संलग्न शिक्षक तथा जिम्मेवार पदाधिकारीमाथि कारबाही गरिएको छ।
भीमसेन आदर्श माध्यमिक विद्यालय र नेपाल माध्यमिक विद्यालयसँग सम्बन्धित उक्त प्रकरणमा नगर शिक्षा समितिले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही गरिएको हो। छानबिनले परीक्षा सञ्चालनमा गम्भीर लापरबाही तथा प्रश्नपत्रको गोपनीयता भंग भएको निष्कर्ष निकालेको थियो।
नगर शिक्षा समितिको निर्णयअनुसार भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष अग्निधर भुसाललाई जिम्मेवारी समुचित रूपमा निर्वाह गर्न नसकेको ठहर गर्दै आगामी २ वर्षसम्म केन्द्राध्यक्ष बन्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। साथै उनलाई नगरस्तरीय परीक्षा समितिको सदस्य पदबाट पनि २ वर्षका लागि हटाइएको छ। उनीसँग आत्मालोचना सहित भविष्यमा गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिइएको छ।
यसै प्रकरणमा संलग्न ठहरिएका शिक्षक महेन्द्र विश्वकर्मा माथि प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोप पुष्टि भएपछि रु. १० हजार जरिवाना गरिएको छ। उक्त रकम ३ दिनभित्र नगरपालिकाको राजस्व शाखामा दाखिला गर्न निर्देशन दिइएको छ। साथै उनलाई भविष्यमा परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा संलग्न हुन नपाउने निर्णय गरिएको छ।
नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटालाई भने सचेत गराउँदै भविष्यमा यस्तो त्रुटि नदोहोर्याउने गरी लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिइएको छ।
त्यस्तै, अन्य केही शिक्षक तथा कर्मचारीको भूमिकामाथि पनि प्रश्न उठेको भन्दै सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई आवश्यक कारबाही गरी नगर शिक्षा समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
देवचुली नगरपालिकाले शिक्षा ऐन २०७६ अनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि कडाइका साथ लागू गर्ने, विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ।
Facebook Comment