नवलपुर । नवलपुरकाे को गैंडाकोट–९ हनुमान मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गमा बस, ट्रक र हात्तीगाडी एकआपसमा ठोक्किँदा चालकसहित १० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
आज बिहान नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ गइरहेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको छ भने घाइतेहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङको दुबै खुट्टामा चोट लागेको छ, उनको अवस्था मध्यम रहेको छ।
त्यस्तै, हात्तीगाडी चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्रीको छातीमा भित्री चोट लागेको छ, उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। बस चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगरको दुबै खुट्टामा सामान्य चोट लागेको छ र उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
बसमा सवार अन्य ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment