देवचुलीको भिमसेन मा.विबाट प्रश्नपत्र आउट : कक्षा ८ को विज्ञान परीक्षा रद्द, १७ गते पुनः सञ्चालन हुने

देवचुलीको भिमसेन मा.विबाट प्रश्नपत्र आउट : कक्षा ८ को विज्ञान परीक्षा रद्द, १७ गते पुनः सञ्चालन हुने

नवलपुर ।  नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरपालिका स्तरीय विज्ञान विषयको परीक्षा प्रश्नपत्र आउट भएपछि रद्द गरिएको छ । परीक्षा सुरु हुनुअघि नै शिक्षकले मोबाइलबाट प्रश्नपत्रको तस्बिर खिचेर विद्यार्थीलाई पठाएको खुलेपछि परीक्षा स्थगित गरी पुनः सञ्चालनको मिति तय गरिएको हो ।

नवलपुरको देवचुली नगरपालिकामा सञ्चालन भइरहेको कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा गम्भीर अनियमितता भेटिएको छ । विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको पुष्टि भएपछि उक्त विषयको परीक्षा रद्द गरिएको हो ।

घटनाअनुसार, देवचुली नगरपालिका–स्थित भिमसेन आदर्श माध्यमिक विद्यालयका शिक्षक महेन्द्र बिकले परीक्षा सुरु हुनुअघि नै मोबाइलबाट प्रश्नपत्रको फोटो खिची केही विद्यार्थीलाई पठाएको आरोप लागेको छ । यसपछि प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएको थियो ।

प्रश्नपत्र आउट भएको विषयमा नगरपालिकाले १४ गते परीक्षा समितिको बैठक बोलाई छानबिन थालेको थियो । सोही बैठकले १२ गते सञ्चालन गरिएको विज्ञान विषयको परीक्षा औपचारिक रूपमा रद्द गर्ने निर्णय गरेको हो ।देवचुली नगरपालिकाका शिक्षा प्रमुख रामप्रसाद शर्माका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनले दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।

रद्द गरिएको विज्ञान विषयको परीक्षा अब १७ गते पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार कक्षा ८ को उक्त परीक्षामा सामुदायिक र संस्थागत गरी २३ विद्यालयका कुल १ हजार २ सय ७७ विद्यार्थी सहभागी रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology