ओली र लेखकको पक्राउप्रति एमाले नवलपुरको आपत्ति, अविलम्ब रिहाइको माग

ओली र लेखकको पक्राउप्रति एमाले नवलपुरको आपत्ति, अविलम्ब रिहाइको माग

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति नवलपुरले पूर्व प्रधानमन्त्री के.पि. शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित ‘दमनकारी कदम’ भएको आरोप लगाएको छ।

एमाले नवलपुरका सचिव भीमलाल कंडेलद्वारा आज जारी प्रेस विज्ञप्तीमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बनेको बालेन्द्र साह नेतृत्वको सरकारले कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओली र लेखकलाई पक्राउ गरेको घटनाको घोर निन्दा तथा भत्सर्ना गरिएको छ।

विज्ञप्तीमा २०८२ भाद्र २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदनलाई बहाना बनाएर लोकतान्त्रिक शक्तिमाथि आक्रमण सुरु गरिएको उल्लेख गरिएको छ। यस्तो कदमले विधिको शासनमाथि प्रहार गर्नुका साथै लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको एमालेको ठहर छ।

एमालेले पक्राउ परेका आफ्ना अध्यक्षसहितका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, प्रतिशोधपूर्ण कार्यहरू बन्द नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ।

विज्ञप्तीमा पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई विचलित नभई सरकारका ‘गलत हर्कत’ विरुद्ध संघर्षका लागि तयार रहन आह्वान गरिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology