खगेन्द्रप्रसाद र रुद्रकली कतार जाँदै, सबै तयारी पूरा 

नारायण शर्मा
प्रकाशित : २०८२ असोज ३१ गते ९:५८
खगेन्द्रप्रसाद र रुद्रकली कतार जाँदै, सबै तयारी पूरा 

कावासोती । अबको एक महिनामा चितवन निकुञ्जमा रहेका एक जोडी हात्ती चार्टर विमानवाट कतार पठाइने भएको छ । राष्ट्रिय निकुञ्ज विभागले यसका लागि सबै तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिएको छ ।

छुट्टाछुट्टै निर्माण गरिएका फलामका खोरमा राखेर ती हात्ती चार्टर विमानमार्फत् भैरहवा विमानस्थलवाट कतार लगिने छ । हात्ती राख्न चितवन निकुञ्जमा एउटा फलामे खोर निर्माण भइसकेको छ । अर्को निर्माणाधीन अवस्थामा छ ।

निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार दुई वर्षअघि नेपाल–कतार सरकारबीच भएको सम्झौता अनुसार नेपालले दुई वटा हात्ती कतारलाई उपहार दिन लागेको हो । हात्ती लैजाने सबै खर्च कतार सरकारले व्यहोर्नेछ । कतार लैजान लागिएका खगेन्द्र प्रसाद (भाले) र रुद्रकली (पोथी) हात्ती करिब ६ वर्ष उमेरका हुन् । हात्ती कतारको चिडियाखानामा निर्माण गरिएको एसीसहितका घरमा बस्ने व्यवस्था मिलाइएको छ ।

‘सामान्यतथा १३ वर्ष कटेपछि हात्तीमा प्रजनन क्षमता देखिन्छ । मान्छे र हात्तीको प्रजनन उमेर एउटै हो,’ आचार्यले भने । हात्तीसँगै जाने चितवन निकुन्जका २ जना माउते र एक पशु चिकित्सकसमेत एक महिनाका लागि कतारमा रहने छन् । उनीहरुले कतार चिडियाखानामा अबदेखि हात्ती स्याहार्ने माउतेलाई हात्तीको सबै आनीबानी सिकाएर फर्किने छन् ।

कतारको तापक्रम सामान्यतया ४५ डिग्री भन्दा माथि रहन्छ । हाल हात्ती हुर्कँदै गरेको चितवन निकुञ्जको मौसम सरहकै तापक्रममा त्यहा राख्ने व्यवस्था मिलाइएको छ । कतारको चिडियाखानामा हात्तीलाई खुवाउने घाँस भारत वा नेपालबाट जहाजमा लैजाने व्यवस्था पनि कतार सरकारले मिलाएको छ ।

प्रकाशित : २०८२ असोज ३१ गते ९:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI