कावासोती । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो । समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ ।
तीन टिमले विश्वकपमा स्थान बनाउने
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता थियो । यसबाट तीन टिमले मात्र आउँदो वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
नौलाई प्रत्येकमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट भएका हुन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछन् ।
छनोटअघि नेपालले तयारीस्वरूप टेस्ट राष्ट्र तथा दुईपटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो । यूएईमा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।
ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।
नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यति बेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।
त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका थिए ।
प्रकाशित : २०८२ असोज २६ गते ७:०८
Facebook Comment