सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो

NAWALPUR TIMES

सभापतिले बोलाएको भेलामा १७ जना मात्रै उपस्थित, केन्द्रमा हस्ताक्षर पठाउनेको संख्या ७५ प्रतिशत पुग्यो
1562935907Nepali Congress flag

कावासोती । विशेष महाधिवेशनको पक्षमा जिल्लाका अधिकांश महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रमा पठाए पछि नेपाली कांग्रेस नवलपुर सभापति महेन्द्रध्वज जिसिले डाकेको जिल्लाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको भेलामा भने १७ जना मात्रै उपस्थित भएका छ्न ।

बिहिबार कांग्रेस नवलपुरको जिल्ला कार्यालयमा आयोजना गरिएको भेलामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि गरेर १७ जनाको मात्रै उपस्थिति रहेको पाईएको छ ।

भेलामा उपस्थित १७ जना मध्ये ८ जना विशेष महाधिवेशनको पक्षमा र ९ जनाले नियमित अधिवेशन गर्नु पर्ने भनाई राखेका भए पनि भेलाले मंसिर महिना भित्र नियमित महाधिवेशन गर्नु पर्ने र यदि केन्द्रिय समितिले नियमित महाधिवेशन प्रक्रिया अगाडी नबढाए विशेष महाधिवेशनको माग गर्ने निर्णय गरेको छ ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेको संख्या नवलपुरमा ७५ प्रतिशत पुग्यो

विशेष महाधिवेशन माग गर्दै चलाईएको हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपुरमा ७५ प्रतिशत हस्ताक्षर पुगेको जिल्लामा अभियानको नेतृत्व गरेका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले बताए ।

उपसभापति घिमिरेका अनुसार जिल्लाका ५४ जना महासमिति र महाधिवेशन प्रतिनिधि मध्ये ४० जनाले हस्ताक्षर गरेर महामन्त्रीहरुलाई बुझाईसकिएको छ । बिहिबार जिल्लाले आयोजना गरेको भेलामा उपस्थित ८ जनाले अभियान अन्तर्गतनै हस्ताक्षर गरेर काठमाडौ पठाईसकेका थिए ।

उपसभापति घिमिरेले जिल्लाको भेलाको निर्णय प्रति दुख: व्यक्त गर्दै निर्णय उभयचर प्रवृत्तिको रहेको बताए । घिमिरेले भेलाको निर्णय सच्चाएर विशेष महाधिवेशन पक्षमा उभिन समेत सम्पुर्ण महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई आव्हान पनि गरेका छ्न ।

नवलपुरमा विशेष महाधिवेशनको पक्षमा जिल्ला उपसभापति बालकृष्ण घिमिरे सहित नेताहरु विष्णुदेवी पाण्डे, शंकर तिवारी, चेतन पौडेल, भविलाल भट्टराई, बद्री सापकोटा, सुर्य गुरुङ, कर्णेल धनबहादुर मास्की राना लगाएतकाले हस्ताक्षर अभियानलाई अगाडी बढाएका थिए ।

जिल्लामा अधिकांश महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा खुले पछि दबाब बढदै जाँदा कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीले भेलानै बोलाएका थिए । जिल्लामा दबाब बढदै गए पछि जिल्ला सभापति महेन्द्रध्वज जिसिले सोमबार काँँग्रस महामन्त्री गगन थापालाई भेटेका थिए । महामन्त्रीसँगको भेट पछि जिसिले जिल्लामा भेला बोलाएका हुन । सभापति जिसि शेखर कोइराला पक्षका नेता हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology