कावासोती । तुइन खोलामा पहिरो नरोकिदाँ नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका यात्रु ३६ घन्टादेखि जाममा फसेका छन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाउने काम आइतबारै बिहानैदेखि सुरू गरे पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन।
शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि आइतबार बिहानैबाट तीनवटा उपकरण प्रयोग गरी पुनः पहिरो पन्छाउन थालिएको थियो।
सडक डिभिजन भरतपुरका अनुसार त्यहाँ अहिले पनि निरन्तर पहिरो खसिरहेको छ। जति पन्छाए पनि पहिरो खस्ने क्रम नरोकिएकाले चुनौतीपूर्ण बनेको सडक डिभिजन भरतपुरले बताएको छ।
‘पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था छ तर पनि हामी आज दिउँसोसम्म एकतर्फी भए पनि सडक आवागमन सञ्चालनमा ल्याउनको लागि प्रयासरत छौं,’ सडक डिभिजन भरतपुरले भनेको छ।
सडक डिभिजनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ।
इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो। रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो।
करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको थियो भने १० मिटर चौडाइ र १६ मिटर उचाइ थियो।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ। यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
त्यहाँका पहिरोका कारण पृथ्वी राजमार्गका यात्रुसमेत जाममा फसेका छन्।
प्रकाशित : २०८२ असोज ५ गते ११:२७
Facebook Comment