कावासोती । मोटरसाइकलको ठक्करबाट गएराति नवलपुरको हुप्सेकोटमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 
हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा गिरुवारीबाट बसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोहि दिशामा पैदल यात्रा गरिरहेका सोही ठाउँका ३५ वर्षीया शोभा सिग्देल कोइरालालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
टाउकोमा चोट लागेर गम्भीर भएकी सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका ३५ वर्षीया इन्दिरा कोइराला र मोटरसाइकल चालक हुप्सेकोट–२ का निशान सिंह ठकुरी पनि घाइते भएको नेपालले जानकारी दिए । 
कोइरालाको मध्यविन्दु प्रादेशीक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौ पठाईएको र गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक ठकुरीलाई भने स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
											
											प्रकाशित :  २०८२ साउन  २ गते ८:३५
										
										
										
	
										
										  
							 
						
Facebook Comment