आकाशमा लहर देखिँदै सातवटै ग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १६ गते १८:२४
आकाशमा लहर देखिँदै सातवटै ग्रह

कावासोती । पृथ्वीबाट बिहीबार राति आकाशमा सातवटा ग्रह लहरै देखिँदै छन् । खगोलशास्त्रीहरुका अनुसार बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण एकै दिन आकाशमा एकै लाइनमा देख्न सकिन्छ । बुध, शुक्र, मंगल, बृहस्पति, र शनि चम्किलो भएकाले नांगो आँखाले देख्न सकिन्छ ।

तर अरुण र वरुण हेर्न दूरबिन वा टेलिस्कोप आवश्यक पर्छ । जनवरी र फेब्रुअरीको सफा आकाशमा ६ वटा ग्रहहरु पृथ्वीबाट देख्न सकिन्छ । शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण ग्रह आकाशमा देखिन्छन् । तर बिहीबार भने सातैवटा ग्रह आकाशमा देखिँदै छन् ।

यस्तो घटनाले हाम्रो सौर्यमण्डलमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिन्छ । सौर्यमण्डलमा पृथ्वीको स्थानबारे पनि नयाँ जानकारीहरु दिन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

सौर्यमण्डलका आठवटा प्रमुख ग्रहहरु एउटै समतल सतहमा घुम्छन् । तर सबैको गति फरक हुन्छ । सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले ८८ दिनमा आफ्नो एक चक्र पूरा गर्छ । जुन बुधको एक वर्ष हो । त्यस्तै पृथ्वीको १ वर्ष ३ सय ६५ दिनको हुन्छ । यसैगरी सौर्यमण्डलको अन्त्यमा रहेको वरुणले सूर्यको एक परिक्रमा गर्न ६० हजार १ सय ९० दिन लाग्छ । यो समयमा पृथ्वीमा झन्डै १ सय ६५ वर्ष बित्छ ।

ग्रहहरुको फरक गति भएकै कारण, कहिलेकाहीँ मात्रै ग्रहहरु सूर्यको एउटै भागमा करिब–करिब एउटै लाइनमा आउने गर्छन् । पृथ्वीबाट हेर्दा, यदि ती कक्षहरु एकै लाइनमा आए भने हामीले रातको आकाशमा धेरै ग्रहहरु एकसाथ देख्न सक्छौं । यो दृश्य निकै दुर्लभ मानिन्छ । यसलाई ‘प्लानेटरी पेरेड’ भनिन्छ ।

नेपाल एस्ट्रोनामिकल सोसाइटी (नासो) का प्रमुख सुरेश भट्टराईका अनुसार मौसम सफा भएमा नेपालबाट पनि ग्रहहरु हेर्न सकिन्छ । ‘बेग्लाबेग्लै समय र दिनमा ग्रहहरु प्रायः नै आकाशमा देख्न सकिन्छ, तर एकैदिनमा सातै ग्रह देखिने भने दुर्लभ हो । यद्यपि एउटै लाइनमा ग्रहहरु देखिन्छ भन्ने सूचनाहरु फैलाइएको छ जुन गलत छ,’ भट्टराई भन्छन्, ‘सूर्यबाट कुनै ग्रह नजिक छ, कुनै टाढा त्यसैले ग्रहहरु एकै लाइनमा देखिन सम्भव छैन तर एकै दिन वा रातमा फरक–फरक समयमा भने देखिन्छन् । हामीले नासोमा पनि टेलिस्कोपबाट प्रदर्शन गर्नेछौँ ।’

यूकेका फिफ्थ स्टार ल्याबस्का खगोलशास्त्री तथा विज्ञानका कम्युनिकेटर जेनिफर मिलार्डले आँखाले तारा वा ग्रह हेर्नुको विशेष महत्त्व हुने बताउँछिन् । ‘आफ्नै आँखाले ग्रहहरु हेर्नुको विशेष महत्त्व हुन्छ । गुगलमा गएर सबै ग्रहहरुको आकर्षक तस्बिर हेर्न सकिन्छ । वास्तवमा यी ग्रह वा तारा हेर्नुको अर्थ अन्तरिक्षको करोडौँ वा अर्बौँ माइलको यात्रा गरेर तपाईंको आँखासम्म आइपुगेका हुन्,’ उनले भनिन् ।

‘के यस्तो घटनाले पृथ्वीमा असर पार्छ ? के यसले सौर्यमण्डलबारे हाम्रो जानकारी बढाउन सक्छ ?’ यस्ता प्रश्न समय–समयमा आइरहन्छन् । वास्तवमा यस्तो घटनाले पृथ्वीमा केही प्रभाव नगर्ने मिलार्डले बताएकी छन् । ‘यस्तो घटना संयोगले मात्र हुन्छन् । यस्ता घटनाले पृथ्वीमा प्रभाव पार्न सक्छ भन्ने कुराको आधार निकै कमजोर छ,’ उनले भनिन् ।

यद्यपि सन् २०१९ मा अनुसन्धानकर्ताहरुले ग्रहहरु एकै लाइनमा आउनुले सौर्य गतिविधिमा प्रभाव पार्न सक्ने बताएका थिए । जर्मनीको ड्रेज्डेन–रोसेन्डोर्फमा रहेको हेल्महोल्ट्ज–जेन्ट्रमका भौतिकशास्त्री र्फ्यांक स्टेफनीले शुक्र, पृथ्वी र बृहस्पति ‘टाइडल फोर्स’ हरुले प्रभाव पार्न सक्ने बताएका थिए । स्टेफनीका अनुसार एउटा ग्रहको टाइडल फोर्स निकै कम हुने भएकाले त्यसले केही असर गर्दैन तर दुई वा त्योभन्दा धेरै ग्रहहरु मिल्दा भने मौसममा असर गर्न सक्छ । ‘टाइडल फोर्स’ अर्थात् दुई ग्रहको बीचमा गुरुत्वाकर्षणमा हुने फरक हो ।

नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) का अनुसार ग्रहहरु एउटै लाइनमा आएका भने होइनन् । वास्तवमा ग्रहहरु एकअर्काबाट धेरै टाढा छन् । तर पृथ्वीबाट हेर्दा मात्र एउटै लाइनमा आएजस्तो देखिन्छन् । ग्रहहरू सुस्त गतिमा घुम्छन् । जसकारण यो ‘प्लानेटरी परेड’ धेरै दिनसम्म देख्न सकिन्छ ।

नासाका अनुसार, चार/पाँचवटा ग्रहहरू प्रत्येक केही वर्षमा आकाशमा एकै दिन देखिन सक्छन् । आउँदो अगस्टको अन्त्यतिर चारवटा ग्रह यसरी एकै पटक आकाशमा देख्न सकिन्छ ।

सन् २०२८ को अक्टोबरको अन्त्यतिर, पाँचवटा ग्रहहरू देख्न सकिन्छ । अर्को पाँच ग्रहहरूको संयोग फेब्रुअरी २०३४ को अन्त्यतिर हुनेछ । सन् २०४० मा मात्रै सातैवटा ग्रहहरु एकै पटक देखिने प्रक्षेपण गरिएको छ । यद्यपि ग्रहहरु छुट्टाछुट्टै समयमा बेग्लै देख्न भने सकिन्छ ।

 

प्रकाशित : २०८१ फागुन १६ गते १८:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI