विद्यार्थी बोक्ने सवारी साधनमा ट्राफिकको नजर, दुई दिनमा १६ साधन कार्वाहीमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ ६ गते १५:२८
विद्यार्थी बोक्ने सवारी साधनमा ट्राफिकको नजर, दुई दिनमा १६ साधन कार्वाहीमा

कावासोती । शैक्षिक संस्थाका सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेको  घटना बाहिर आउन थालेपछि नवलपुरमा ट्राफिक प्रहरीले चेक जाँच बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुक्रबार र आईतबार जिल्लाको कावसोतीमा अनुगमन गर्ने क्रममा विद्यालय बस सञ्चालन निर्देशिका–०७४ को मापदण्डविपरीत सन्चालन भएका १६ वटा शैक्षिक संस्थाका यातायातका साधनलाई कार्वाही गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । गत शुक्रबार गैँडाकोट र आज आईतबार कावासोतीमा ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने २९ वटा सवारी साधनलाई चेकजाँच गरेको थियो ।

विद्यार्थी बोक्ने सवारी साधनमा ट्राफिकको नजर, दुई दिनमा १६ साधन कार्वाहीमा 5

चेक जाँचका क्रममा विद्यार्थी बोक्ने बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुक समेत नभएको, बस सञ्चालन निर्देशिका बमोजिम बसमा प्राथमिक उपचार किट, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको तथा निर्देशिकाले तोके बमोजिम अधिकांश सवारी साधनले मापदण्ड पूरा नगरेको फेला परेको बञ्जाराले बताए ।

उनका अनुसार एक पटकका लागी कार्वाहीमा परेका सवारी साधनलाई जरिवाना गरेर सम्बन्धित शैक्षिक संस्थाको जिम्मा लगाईएको हो । पहिलो पटक भएकाले शैक्षिक संस्थाको नाम सार्वजनिक नगरिएको बताएका निरीक्षक बञ्जाराले फेरि पनि स्कुल बस सन्चालान निर्देशिकाको मापदण्ड विपरीत बस सन्चालन गरे हदै सम्मको कार्वाही गरिने जानकारी दिए ।

विद्यार्थी बोक्ने सवारी साधनमा ट्राफिकको नजर, दुई दिनमा १६ साधन कार्वाहीमा 6

पछिल्लो समय विद्यार्थी बोक्ने सवारी साधन मापदण्ड विपरीत भएको भन्दै जनगुनासो बढेकाले ट्राफिक प्रहरीले अनुगमनलाई तिब्रता दिएको हो । ट्राफिक प्रहरीले सुरु गरेको अनुगमनमा जिल्ला प्रहरी कार्यालय प्रमुख, जिल्ला बाल क्लवका जिल्ला प्रतिनिधी, स्थानिय तहका जनप्रतिनीधि, विद्यालय व्यवस्थापक समेतको उपस्थिती रहेको थियो । यो अभियानलाई जिल्ला भरिनै सन्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ माघ ६ गते १५:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI