सुरुङ्ग मार्ग निर्माण गरेर पोखरा र नवलपुरको दुरी घटाउन अध्ययन सुरु : मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES

सुरुङ्ग मार्ग निर्माण गरेर पोखरा र नवलपुरको दुरी घटाउन अध्ययन सुरु : मुख्यमन्त्री पाण्डे
1726576937543

चोरमारा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माण मार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ ।

उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहेको भएपनि सुरुङ्ग मार्गहरु निर्माण हुन सक्दा प्रदेश राजधानि पोखरा नवलपुर र देशको प्रमुख राजमार्गसंग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भीक अध्ययनहरुले देखाएको बताउनुभयो ।

मंगलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्रिवेणी कोरोला सडक खण्डको महत्वपूर्ण खण्डको रुपमा रहेको दुम्कीबास त्रिवेणी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वन र निकुञ्ज ऐनका कारण सडक निर्माण प्रभावित भएको भन्दै जग्गा प्राप्तीको अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नवलपुरको लोकाहमा औधोगिकग्राम स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडी बढाएपनि केन्द्र सरकारले जग्गाको अधिकार नदिदाँ अपेक्षित काम अगाडी बढ्न नसकेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको स्थापना दिवस मुल समारोहमा सहभागि हुनु भएका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा नै नमुना कार्य गर्न सफल भएकोमा मध्यविन्दु नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । गण्डकी प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा लगातार तिन वर्ष छनोट हुने एक मात्रै नगरपालिकाको रुपमा मध्यविन्दु नगरपालिका छनोट भएकोमा शुभकामना दिनुहुदै उहाँले लगातार कार्यक्रममा छनोट हुनुले मध्यविन्दु नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने विषयको मूल्याङ्कन गर्न सकिने बताउनुभएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology