सहकारी ठगीमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बयान आज

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ७ गते ८:१३
सहकारी ठगीमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बयान आज

कावासोती । सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने भएको छ । करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको कम्तीमा ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको विवरण प्राप्त भएको छ भने त्योमध्ये ८० करोड रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

कानुनले कम्पनीको कारोबारमा प्रबन्ध निर्देशक जिम्मेवार हुने स्पष्ट व्यवस्था गरे पनि लामिछाने र उनका सहयोगीहरूले आफूहरूलाई केही पनि थाहा नभएको बताउँदै आएका छन् ।

सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले करिब ३ महिनादेखि सहकारी बचत हिनामिनामा छानबिन गरिरहेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारीसहित ५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ । समितिका सभापति थापाका अनुसार गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलाई शुक्रबार बिहान ११ बजे र लामिछानेलाई २ बजे सोधपुछका लागि बोलाइएको छ ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरिएको प्रहरी, सीआईबी र स्थानीय तहले गरेको अध्ययन तथा छानबिन प्रतिवेदनहरूमा उल्लेख छ । लामिछाने २०७८ वैशाख ५ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । उक्त अवधिमा मात्रै ४ सहकारीबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगिएको विभिन्न प्रतिवेदनहरूबाट खुलेको छ । यी विवरण बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै तत्कालीन प्रतिपक्ष कांग्रेसले संसद्मा आवाज उठाएपछि छानबिन विशेष समिति बनेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालकहरू जोशी र लामिछानेसँग बयान लिएपछि समितिले प्रतिवेदनलाई अन्तिम स्वरूप दिने तयारी गरेको छ । ‘छिटपुट कोही बोलाउनुपर्ने कर्मचारी बाँकी रहेमा बोलाउनुपर्ने स्थिति हुन्छ, नत्र शुक्रबारदेखि हाम्रो सोधपुछ गर्ने काम सकिन्छ र समिति प्रतिवेदन लेखनलाई टुंग्याउने दिशामा लाग्छ,’ सभापति थापाले कान्तिपुरसँग भने, ‘सोधपुछ र प्रतिवेदन लेखनको काम सँगसँगै जस्तो अघि बढेकाले समितिले पाएको समय सीमाभित्रै प्रतिवेदन बुझाउने तयारी छ ।’ पहिलो बैठक बसेको मितिले समितिलाई तीन महिनाको समय छ जुन आगामी भदौ २३ मा सकिँदै छ ।

प्रकाशित : २०८१ भदौ ७ गते ८:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI