नारायणघाट बुटवल सडक : तेस्रो पटक एक वर्षका लागि म्याद थप

NAWALPUR TIMES

नारायणघाट बुटवल सडक : तेस्रो पटक एक वर्षका लागि म्याद थप
1719974447623 1

कावासोती । ६ वर्षमा ५३ प्रतिशत भौतिक प्रगति भएको नारायणघाट बुटवल सडकको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि केही दिनअघि म्याद थप गरिएको हो ।

११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले ढिलाइ गर्दा कामले गति लिन नसकेको हो ।

कामको गति बढाउने गरी म्याद थप गर्ने निर्णय भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘म्याद थप गर्ने नगर्नेबारे धेरै छलफल भयो, म्याद थप नगरी ठेक्का तोड्ने प्रक्रियामा गए फेरि नयाँ ठेक्का गर्न समय लाग्ने र लागत बढ्ने देखियो,’ उनले भने, ‘त्यसैले विकल्पमा म्याद थप गर्ने निर्णय भएको हो, अब फेरि निर्माण व्यवसायीलाई काममा ढिलाइ गर्ने छुट छैन ।’ उनका अनुसार दुवै साइड गरेर २६.५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।

आयोजनाले विनियोजित बजेटसमेत खर्चिन सकेको छैन । यो आयोजनाका लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकामा ४६.९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो ।

सडक विस्तार ढिलाइले गर्दा दैनिक यात्रुले सास्ती खेप्नु पर्ने बाध्यता छ । विस्तार थालिएको सडकमा जताततै भएको खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । दाउन्ने खण्डमा अहिले लेदो माटोले गर्दा सवारी साधन चिप्लने समस्या थपिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology