पुल निर्माण अलपत्र पारेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग

NAWALPUR TIMES

पुल निर्माण अलपत्र पारेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग
thumb 2

नारायण शर्मा, कावासोती । कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ६ वर्षदेखि फरार रहेका ठेकेदारलाई कारबाही गर्न माग गर्दै यहाँका मेयरले प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएका छन् । ०७५ सालमा कावासोतीको वडा नम्बर ४ र ५ को सीमानामा रहेको केरुंगे खोलाको पुल निर्माण सुरु भएको थियो । तर अहिले सम्मपनि पुल निर्माणको काम सकिएको छैन ।

पुल निर्माणको जिम्मा लिएका ठेकेदार मनोज भट्टलाई कारबाही गर्न माग गर्दै कावासोतीका मेयर बिष्णुप्रसाद भुसालले बिहीवार प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेका छन् । निर्माण कम्पनी एडभेन्चर कन्सट्रक्सल कम्पनीले १० करोडमा ठेक्का लिएको हो । १ सय ४० मिटर लम्वाइको यो पुल निर्माणको काम ०७५ सालमा सुरु भएको हो । हालसम्म पनि सम्पन्न भएको छैन । पुलको लागत १० करोडको हो ।

प्रमुख जिल्ला अधिकारीलाई बिहीवार लेखिएको पत्रमा ‘केरुंगे खोलामाथि निर्माण सुरु भएको पुल लामो समयदेखि काम अलपत्र पारेर ठेकेदार बेपत्ता भएको हुँदा ठेकेदार कमल भट्टलाई झिकाई पुल निर्माण सुचारु गराउनका साथै कारबाही गरिदिनुहुन अनुरोध छ,’ भनिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले ती ठेकेदारलाई ३ पटक पत्र पठाइसकेको छ । कावासोती नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नारायण लोहनीले निर्माणाधीन पुलको गुणस्तर समेत कमसल भएकाले जाँच गरिनुपर्ने बताए । ‘पुल बनाउन भनेर बुनेको छड ४ वर्षसम्म खिया लागेर उक्किन थालिसकेको छ । त्यसैमा कंक्रिटले ढलान गर्दा पुलले धान्दैन । पुल समयमै नसकेर कम्जोर बनाएको छ । यसमा छानविन गर्न माग गर्दछु,’ लोहनीले भने ।

अघिल्लो जेठ १५ गते जिल्ला प्रशासनमा उपस्थित भएका ठेकेदारले अबको १० दिनमा काम सम्पन्न गर्छु भनेर लिखित प्रतिबद्धता जनाएपछि फरार ठेकेदार अझै सम्पर्कमा आएका छैनन् । ‘प्रशासनले पत्र पठाएपछि आएर लिखित गर्छन् र भाग्छन्,’ अध्यक्ष लोहनी भन्छन्, ‘केरुंगे खोला हुँदै ओहोरदोहोर गर्नुपर्ने स्थानीय बासिन्दा यो पटकको वर्षामा पनि खोलो तर्न बाध्य हुनुपर्ने स्थिति छ ।’ ठेकेदारले फटाफट काम गरे १५ दिनमा काम सम्पन्न हुने अवस्था भएपनि काममै नआएका कारण पुल निर्माण अलपत्र परेको उनले बताए ।

यो पुल हेर्ने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर रमेश प्रसाद पौडेलले आफूले आजैपनि ठेकेदारलाई मौखिक ताकेता गरेको दाबी गरे । ‘आर्थिक रुपले यो ठेकेदार कालो सूचीमा परेको छ । कहीँकतैबाट ठेकेदारले भुक्तानी पाउनासाथ बैंकले पैसा तान्ने गरेकाले ठेकेदार टाट पल्टिएका कारण जाँगर नगरेको हुन सक्छ, ‘ पौडेलले भने, ‘यो समस्या ठेकेदारको हो । पुलको काम सम्पन्न गर्ने जिम्मेवारी उसैको हो । काम सम्पन्न हुनासाथ भुक्तानी पाउँछ, अहिले पैसा खोजेर गर्ने काम ठेकेदारकै हो ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology