वाइवाइ चाउचाउ गुणस्तरमा फेलः चौधरी ग्रुपलाई काठमाडौं महानगरको २ लाख जरिवाना

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १४ गते ९:३४
वाइवाइ चाउचाउ गुणस्तरमा फेलः चौधरी ग्रुपलाई काठमाडौं महानगरको २ लाख जरिवाना
1714057842 waiwai 1200x560 1

कावासोती । चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेको हो।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ। महानगरपालिकाको वडा नं ६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते महानगरको टोलीले चाउचाउ जफत गरेको थियो। १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएको थियो। जबकी यसको भ्यालु १ एमजी भन्दा बढी हुन नहुने खाद्य प्राविधिक अनिल बस्नेत बताउँछन्।

उनका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो। यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने उनले बताए।

प्रकाशित : २०८१ वैशाख १४ गते ९:३४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI