एसिसी यु–१९ प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टोलीको विदाई
NAWALPUR TIMES प्रकाशित : २०८० असोज २३ गते १४:०९
386521616 725719002917816 4672631979408226565 n 768x512 1
कावासोति । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ ।
प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुँदैछ । यस प्रतियोगिताको शीर्ष तीन टोली यु–१९ एसिया कपमा खेल्न योग्य हुनेछन् । नेपालको समूह एमा बहराइन, साउदी अरब र इरान रहेका छन् ।
यसैगरी, समूह बिमा युएई, ओमान, कतार र चीन, समूह ‘सी’ मा सिङगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् । शीर्ष तीन टोली एसिसी यु–१९ एसिया कपका लागि छनोट हुनेछ ।
नेपाली टिमका प्रशिक्षक जगत टमाटाले यु–१९ विश्वकपमा छनोट भएकोले पनि आफ्ना खेलाडीहरूको मनोबल उच्च रहेको बताए । उहाँले च्याम्पियन भएर यु–१९ एसिया कपमा चयन हुने लक्ष्य रहेको बताए ।
नेपालले देव खनालको नेतृत्वमा प्रतियोगिता खेल्नेछ । कप्तान खनालले उपाधि जित्ने लक्ष्यसहित मलेसिया जान लागेको जानकारी दिए । नेपाल यसपालि यु–१९ विश्वकपमा पनि चयन भइसकेको छ । त्यसैले पनि कप्तान खनालले आफ्नो टिमको मनोबल उच्च रहेको बताए ।
‘‘सबै खेल जित्ने प्रयास गर्नेछौँ । भारतमा तयारी भएको छ । त्यसैले पनि फाइदा गर्नेछ । हामी प्रिमियर कप लिएर घर फर्कनेछौँ ’’ कप्तान देवले भने ।
यसैगरी, क्यानका सचिव पारस खड्काले यु–१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता राष्ट्रिय टोलीका लागि ‘फाइट’ गर्ने मञ्च हो, भने ।
यस प्रतियोगितामा खेल्नका लागि क्यानले चार दिनअघि १४ सदस्यीय टिमको घोषणा गरेको थियो । टिममा देवबाहेक आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा छन् ।
Facebook Comment