पूर्वी नवलपरासी — १३ वर्षदेखि पुरै बन्द रहेको गैडाकोट स्थित भृकुटी कागजकारखानाका मजदुरहरुले ३२ करोड रुपैया तलब वापतको भुक्तानी पाउने भएका छन् । निजिकरणपछि भृकुटी पल्प एण्ड पेपर मिलका नामले गोल्छा अर्गनाइजेशनले संचालन गरेको थियो । बिहीबार पेपर मिलका प्रतिनिधि रमेश कुमार दाहाल र आधिकारीक ट्रेड यूनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पीडित मजदुरहरुका तर्फबाट अन्दोलनका संयोजक दर्शन सापकोटाले कारखाना व्यवस्थापनसँग लिखित सहमति भएको टेलिफोनमा बताए । ०६७ सालसम्म कारखाना संचालन हुँदादेखिकै हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले दाबी गरे । धेरैपटकको आन्दोलनले यति उपलब्धी हासिल भएको सापकोटाको भनाइ छ ।
नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३ सय २८ कर्मचारीले तलब वापतको रकम पाउने भएका हुन् । सम्झौता भएको मितिले एक वर्षको अवधी भित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ । उद्योग बन्द रहेको मितिदेखि ( २०७६ साल) तलब भुक्तानी हुने दिनसम्मको बेसिक तलबको आधा दिने सहमति भएको श्रेष्ठको भनाइ छ । कर्मचारीले पाउने तलबको १० प्रतिशत ब्याज समेत दिने सहमति भएको छ ।
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापना भएको कागज कारखाना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा निजिकरण भन्दै ३२ करोडमा गोल्छा अर्गनाइजेशनलाई बिक्रि गरिएको हो । महेन्द्रराजमार्गमै रहेको कारखाना बन्द भएका कारण जिर्ण छ । त्यहाँ सुरक्षा गार्डले मात्रै हेरचाहा गर्दै आएका छन् । कारखानाको करिब ४८ बिगाह जग्गा रहेको छ । कारखाना दीवाकार गोल्छाका छोरा हितेस गोल्छाको नाममा रहेको छ । चिनियाँ सहयोगमा ४० वर्ष अघि निर्मित कारखाना भवन जिर्ण छ । भवनको छानो उडाउने जोखिम छ ।
प्रकाशित : २०८० असोज १९ गते १२:५७
Facebook Comment