कावासोती । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो ।
सोमबार अञ्जन फेरि पुरुषको राष्ट्रिय टिमका लागि सबैभन्दा बढी गोल गरेका नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान भेटाउने प्रयासमा हुनेछन् । कीर्तिमानभन्दा एक गोल पछाडि परेका अञ्जनले १२ गोल गरेका छन् । सन् २०१९ मा म्यान्मारमै भएको मैत्रीपूर्ण खेलमा ३–० ले हारेको नेपालका लागि गोलरहित बराबरी नतिजा पनि उपलब्धिमूलक नै मान्न सकिन्छ । विश्वकप छनोटको तयारीमा कमजोरी सच्याउने अभियानमा रहेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस बराबरीभन्दा पनि राम्रो नतिजा चाहन्छन् म्यान्मारविरुद्ध ।
इटालियन प्रशिक्षक एनेसले दुई स्ट्राइकर आर्मीका जिलेस्पीजंग कार्की र जावलाखेल युवा क्लबका हिसुब थपलियालाई शुक्रबार डेब्यु दिएका थिए । उनले डेब्यु गर्न बाँकी अरू खेलाडीलाई पनि सोमबार मैदानमा ओर्लने अवसर दिन सक्छन् । विशेष गरी डिफेन्समा पोजिसनअनुसारका खेलाडी अभाव रहेको छ । त्यसैले उनले विश्वकपको प्रारम्भिक छनोटमा लाओसविरुद्धको खेलका लागि अन्तिम तयारी भएकाले टिममा केही परिवर्तन गर्न सक्छन् ।
फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यान्मार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो । जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरको टिम म्यान्मार पनि विश्वकप २०२६ पहिलो छनोटको अन्तिम तयारीमा रहेको छ । म्यान्मारले छनोटमा मकाउविरुद्ध खेल्दै छ भने नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोटका प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।
Facebook Comment