सिद्धार्थ ग्रुपको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी

NAWALPUR TIMES

सिद्धार्थ ग्रुपको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी
received 148946691547153

नवलपुर। सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दसैं अगाडि सञ्चालनमा ल्याउने भएको छ। ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो।

सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस’ कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले उक्त जानकारी दिए।

स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ।

रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन्। ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन्।

रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ। पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन्। सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ। रिसोर्टमा स्विमिङ पुल, मसाज सहितको स्पा पनि रहनेछ।

रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए।

लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ।

यस अघि ग्रुपले आफ्नो २५औं वर्ष पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ।

भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब ५ बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले बताए।

सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ।

जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ। चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन्।

बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन्।

बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन्। ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र नेपालगञ्जमा एक/एक वटा गरी ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ।

सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology