कहिले सकिन्छ नारायणघाट-बुटवल सडक स्तरोन्नतिको काम?

NAWALPUR TIMES

कहिले सकिन्छ नारायणघाट-बुटवल सडक स्तरोन्नतिको काम?
narayangadh16789526741680667948

कावासोती । एशियाली मापदण्डको राजमार्ग बनाउने गरी ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्ने भनिएको नारायणघाट-बुटवल खण्डको काम थपिएको एक वर्ष सकिन लाग्दा समेत एक तिहाइ हाराहारीमा मात्र हुन सकेको सडक विभागका अधिकारीहरूले बताएका छन्।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने, “म निकै आशावादी भएर भन्दा काम सकिन अझै एक वर्षभन्दा बढी समय लाग्छ।”

महेन्द्र राजमार्ग अन्तर्गत पर्ने उक्त खण्ड सडक विभागको जिम्मेवारी अन्तर्गत पर्छ। उक्त सडकको अधिकांश भागमा दुवैतर्फ सर्भिस लेन समेत थपिन लागिएको छ। तर विसं २०७५ साल चैतमा सुरु गरेर झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको उक्त परियोजना कहिले सकिन्छ भन्ने प्रश्नको प्रस्ट उत्तर कसैसँग छैन।

पश्चिम नेपाल र पूर्वी नेपाल जोडिने मध्यभागको बाटो एवम् राजधानी काठमाण्डौसँग जोड्ने एउटा प्रमुख सडक मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट महत्त्वपूर्ण मानिन्छ।तर समयमा काम पनि नसकिने र भत्काइएको सडक झन् बढ्ता बिग्रिरहँदा त्यस खण्ड भएर यात्रा गर्ने र आसपासमा बस्ने मानिसहरूले अनेक खाले समस्या झेल्नुपरेको गुनासो उठ्ने गरेका छन्।

 

पश्चिम खण्डको म्याद थप, पुर्वी खण्डको पनि थप्ने तयारी

सुस्त गतिमा काम भइरहेको गुनासो आएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको पुर्वी खण्ड (गैंडाकोट-दाउन्ने) को म्याद ३ सय ३० दिन थप्ने तयारी गरिएको छ ।

आयोेजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडा ढकालका अनुसार नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद ३ सय ३० दिन थप गर्नेगरी छलफल अघि बढेको छ ।पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएकाले म्याद थप भइसकेको र पूर्वी खण्डको म्याद २८ अगस्ट अर्थात भदौ ११ मा सकिने भएकाले प्रक्रियामै रहेको जनाउँदै म्याद थप हुने निर्देशक ढकालले बताए ।

निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ । सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जीनीयरिङ कर्पोरेसन लिमिटेडका पुर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology