कावासोती । नवलपुरको कावासोती साइक्लिङ ग्रुपको आयोजनामा शनिबार ५० किलोमिटर कोरा साईकिलिङ्ग च्यालेन्ज यात्रा पूरा भएको छ । शनिबार बिहान कावासोतीस्थित नर्मदेश्वर शिवालयबाट सुरु भएको साइक्लिङ ग्रुपले ३ वटा नगरपालिकाको ५० किलोमिटर यात्रा गरेर शिवालयमै आएर टुंगिएको हो ।
उनीहरूले कावासोती देवचुली र मध्यबिन्दु नगरपालिकाको भित्री बाटोबाट शनिबार दिउँसोसम्म ५० किलोमिटर यात्रा पूरा गरेका हुन् ।
कावासोतीका मेयर विष्णुप्रसाद भुसालले एक समारोहबीच साइक्लिङको बिदाइ गरेका थिए । यात्रामा ९५ युवा सहभागी थिए । उनीहरूले विभिन्न मठमन्दिर र पर्यटकीयस्थल चक्कर लगाएका हुन् । ती स्थानमा उनीहरूले सरसफाइसमेत गरेका थिए ।
कावासोती साइक्लिङ ग्रुपमा ८० युवा आबद्ध रहेको संस्थाका अध्यक्ष ज्योति श्रेष्ठले जानकारी दिए । शारीरिक तन्दुरुस्ती राख्न र पर्यटकीयस्थलको प्रचारमा साइक्लिङ ग्रुपको ठूलो भूमिका हुने मेयर भुसालले बताए ।
प्रकाशित : २०८० असार ३० गते १५:१८
Facebook Comment