किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पिर

NAWALPUR TIMES

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पिर
1688093669538

कावासोती ।आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनावट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन ।

सिँचाइको अभावका कारण किसानले अकासे पानीको भरमा धान रोप्न बाध्य छन् । वैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस वर्ष रोपाइँ ढिला भएको किसान बताउँछन् । केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन् ।

जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा रोपाइँ भएको छ । केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका कृषक वीरबहादुर खत्रीले बताउनुभयो । “धान र कोदोको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी जोगाउने भन्ने चिन्ता थियो । पानी पर्न थालेपछि यहाँका किसान खनजोतमा व्यस्त छन्”, उहाँले भन्नुभयो । व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल रोपाइँ सुरु गर्नुपरेको उहाँले बताउनुभयो ।

खेतीयोग्य जमिन हुँदाहुँदै पनि मल र सिँचाइको अभावमा समयमै बाली लगाउन नसकेको कृषक खत्रीले बताउनुभयो । उहाँले वर्षौँदेखि अकासे पानीको भरमा धान बाली लगाउँदै आएको भन्दै अहिलेसम्म सिँचाइको समस्या समाधान हुन नसकेको गुनासो पोख्नुभयो ।

गाउँमा धेरै जसो किसानले गोठे तथा प्राङ्गारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको खत्रीले बताउनुभयो । रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उहाँको भनाइ थियो । उहाँले किसानको लगानीले कुलो बनाउन नसकिने भन्दै कुलो र नहर बनाउन बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

“पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ, सिँचाइ र मल अभावका कारण समयमा रोपाइँ गर्न सकिएको छैन”, कृषक खत्रीले भन्नुभयो, “यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्, लामो समय खडेरी पर्‍यो भने हामीले धान लगाउनै पाउँदैनौँ, खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन ।”

कृषक नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गर्नुभयो । समयमै मल नपाउँदा मलबिना नै धान लगाउनु परेको भन्दै उहाँले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताउनुभयो ।

पोडैलले मल, सिँचाइको अभावका साथै गाउँमा काम गर्ने मजदुरसमेत पाइन छोडेकाले खेतबारी बाँझै रहन थालेको बताउनुभयो । “अहिले धान उत्पादन हुने जमिन घट्दै छ, पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो, उत्पादन पनि राम्रो हुन्थ्यो, अहिले न समयमा मल आउँछ, न पानी पुर्‍याउन सकिन्छ”, उहाँले भन्नुभयो, “काम गर्नलाई मान्छे खोज्यो मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो, गाउँमा भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छ ? बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ ।”

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । खेती हुने जमिनमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ सुविधा पुगेको जमिनमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ ।

प्रमुख भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँको भनाइ छ ।

जिल्लामा गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको प्रमुख भट्टराईले बताउनुभयो । “केही दिनदेखि परेको अविरल वर्षाले यहाँका किसानलाई रोपाइँका लागि सहज बनाएको छ”, उहाँले भन्नुभयो, “सिँचाइको राम्रो व्यवस्था गर्न सके जिल्लामा रोपाइँ हुने क्षेत्रफल बढ्छ ।” रैथाने जातका धान लगाउँदै आएका किसानलाई ज्ञान केन्द्रले उन्नत जातका बीउ उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology