कावासोती । समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै नेपालले साफ च्याम्पियनसिप–२०२३ मा सान्त्वना जित हात पारेको छ ।
मंगलबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा आशिष चौधरीले गरेको गोल निर्णायक बन्दा नेपालले पाकिस्तानविरुद्ध १–० को साँधुरो जित निकालेको हो । ८०औं मिनेटमा आशिष चौधरीले पाकिस्तानको डेड लक तोड्दै नेपाललाई अग्रता दिलाएका थिए । १८ यार्ड बक्सबाहिर लाकेनले मिलाएको बलमा आशिषले उत्कृष्ट बलि गोल गरेका थिए । नेपालका लागि आशिषको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
त्यसअघि पनि नेपालले गोलका केही सुन्दर अवसर खेर फालेको थियो । ११औं मिनेटमा नेपालमा विमल घर्तिमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् । विमल वान भर्सेस वान अवस्थामा रहँदा विमललाई पाकिस्तानका रक्षक एसाह सुलेमानले १८ यार्ड बक्स नजिकै फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । तर, उक्त फाउलमा विमलले नै प्रहार गरेको फ्रिकिकले पाकिस्तानी गोलकिपरका लागि कुनै असहजता बनाउन सकेन ।
४२औं मिनेटमा नेपालका विमल घर्तिमगरले गोलको सुनौलो मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन । मनिष डांगीले लेफ्ट साइटबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र रहेको विमलको फितलो प्रहार गर्दा नेपालले गोलको मौका गुमाएको थियो ।
६१औं मिनेटमा नेपालका मनिष डांगीले गोलको अर्को सुन्दर अवसर खेर फाले । नवयुगले निकालेको पासमा मनिषले पेनाल्टी बक्सभित्र वान भर्सेस वानको अवस्थामा पाकिस्तानी गोलकिपरलाई बिट गर्न सकेनन् । मनिषको प्रहार पाकिस्तानी गोलकिपर युसुफ बटले विफल बनाएका थिए ।
६८औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक बारमा लागेर फर्किदा नेपालले अग्रता बनाउन सकेन । पाकिस्तानी रक्षकले नेपालका लाकेन लिम्बुलाई फाउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । यस्तै, एरिक बिष्टले ७३औं मिनेटमा गरेको फ्रिकिक प्रहारमा पुनः बार बाधक बनेको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो ।
पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो । यो समूहबाट भारत र आमन्त्रित टिम कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, समूह विजेता र उपविजेताको टुंगो भने आजै साँझ ७ः४५ बजेदेखि हुने खेलबाट लाग्नेछ ।
च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारतसँगै पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
प्रकाशित : २०८० असार १२ गते १७:५०
Facebook Comment