उदघाटन खेलमा नेपाल कुवेत सँग ३-१ ले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ६ गते १७:५३
उदघाटन खेलमा नेपाल कुवेत सँग ३-१ ले पराजित

काठमाडौं । साविक उपविजेता नेपाल जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।

भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा भएको खेलको २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । सुरुआतदेखि नेपालमाथि दबाब बनाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल थप्यो । सहबाहिब अलखादिलले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । दोस्रो हाफमा पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि ६५औं मिनेटमा मोहमद अब्दुल्लाहको गोलमा ३-० को अग्रता बनायो ।

डिफेन्डर अनन्त तामाङको ह्यान्ड बलमा कुवेतले पेनाल्टी पाएको थियो । सोहि अवसरलाई सदुपयोग गर्दै अबदुल्लाहले गोल गरेका थिए ।

त्यसको तीन मिनेट नबित्दै अन्जन बिष्टले गोल फर्काएपनि नेपालको जितका लागि पर्याप्त बन्न सकेन ।

त्यसअघि, खेलको ५७औं मिनेटमा अन्जन बिष्टले करिब २० यार्डबाट दिएको क्रसमा सनिस श्रेष्ठको हेडर फ्रेममा नपर्दा नेपालले गोल फर्काउने अवसर गुमाएको थियो ।

नेपालले ८७औं मिनेटमा पुनः गोल गर्ने अवसर खेर फालेको थियो । ८७औं मिनेटमा सब्सिट्युट खेलाडी आभाष लामिछानेको क्रसमा आयूष घलानको हेडरले पोष्टको दिशा लिन सकेन ।

नेपालले यसअघि खेलेका ९ खेलमै कुवेतविरुद्ध एक पनि जित निकाल्न सकेको छैन । ८ खेलमा हार बेहोरेको नेपालले एक खेल बराबरी गरेको थियो ।

जितसँगै कुवेतले समूह ए मा ३ अंक जोडेको छ । पराजित नेपालले अब दोस्रो खेलमा सनिबार घरेलु टिम भारतको समाना गर्नेछ भने समूह चरणको अन्तिम खेल मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित : २०८० असार ६ गते १७:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI