नेपाल समूह चरणको अन्तिम खेलअगावै प्रिमियर कपको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ११ गते १३:३३
नेपाल समूह चरणको अन्तिम खेलअगावै प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले सोमबार साउदी अरेबियासँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण मूलपानी क्रिकेट रंगशालामा हुने खेल टससमेत नभई रद्द भएपछि नेपाल पाँच अंकसहित अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूहको शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट पाँच अंक जोडेको छ । त्यो दोस्रो स्थानको ओमानभन्दा एक अंक धेरै र तेस्रो स्थानको साउदीभन्दा दुई अंक धेरै हो । तालिकाको चौथो स्थानमा रहेको मलेसियाले तीन खेलबाट दुई अंक जोड्दा दुई खेल खेलेको कतार अंकविहीन छ ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्नेछ । उक्त खेलमा जित निकाले नेपाल समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ ।

यसबाहेक, समूह ‘ए’मा अब मलेसियाविरुद्ध कतार र ओमानविरुद्ध साउदी अरेबियाबीचको खेल बाँकी छ । जसमध्ये ओमान र साउदीबीचको विजेता नेपालसँगै सेमिफाइनल प्रवेश गर्ने समूह ‘ए’ को अर्को टिम बन्नेछ । यता, मलेसिया प्रतियोगिताको अन्तिम खेल खेल्नु अगावै र कतार दुई खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

प्रकाशित : २०८० वैशाख ११ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI