सन्दीप लामिछानेको नाममा १०० विकेटको विश्व कीर्तिमान

NAWALPUR TIMES

सन्दीप लामिछानेको नाममा १०० विकेटको विश्व कीर्तिमान
1581508247sandip

नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्।

एसीसी प्रिमिअर कपको बिहीवार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्।

लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्।

यसअघि गत महिना कीर्तिपुर क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिम (६३ रन)लाई एलबीडब्लुको धरापमा पारेपछि विकेट सङ्ख्या ९९ पुर्‍याएका थिए।

तर त्यसदिन उनले अर्को विकेट भने लिन सकेनन्।

एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा पाँच वर्षमा लामिछानेले तीन पटक ५ विकेट लिएका छन्।

सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्डस् विरुद्ध एक दिवसीय खेल्दै लामिछानेले पहिलो विकेट लिएका थिए। त्यो नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेलेको पहिलो शृङ्खला थियो।

अन्य कीर्तिमान

लामिछानेका नाममा अरू कीर्तिमानहरू पनि छन्।

उनी राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वको सातौँ कान्छा कप्तान हुन्। सन् २०२२ मा विश्वकप लिग-२ अन्तर्गत सारजाहमा पपुवा न्यूगिनी विरुद्ध कप्तानी जिम्मेवारी सम्हाल्दा लामिछाने २१ वर्ष २२६ दिनका भएका थिए।

यसै गरी एउटै शृङ्खलामा सबैभन्दा बढी ‘डक आउट’ हुने खराब कीर्तिमान पनि उनको नाममा छ।

विश्वकप लिग-२ को २०१८-२३ शृङ्खलामा लामिछाने सबैभन्दा बढी पाँच पटक डक आउट (पहिलो बलमा आउट) भएका थिए ।

लिग -२ शृङ्खलामा नै लामिछानेले ६ विकेट लिएका थिए जुन उत्कृष्ट विकेट लिइएको विश्वकै दोस्रो सफल स्पेल बनेको थियो।

सन् २०२१ को विश्वकप लिग-२ मा पपुवा न्यूगिनी विरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर उनले ६ विकेट लिएका थिए

सो कीर्तिमानको पहिलो नम्बरमा भने भारतका विन्नी रहेका छन्। उनले सन् २०१४ मा भएको खेलमा बाङ्गलादेश विरुद्ध ४.४ ओभरमा दुई मेडन ओभर कायम राख्दै चार रन दिएर ६ विकेटको दुर्लभ कीर्तिमान रचेका थिए।

त्यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै एलबीडब्लु विकेट लिनेमा लामिछाने विश्वको सातौँ नम्बरमा छन्। उनले १२ वटा एलबीडब्लु विकेट लिएका छन्।

लिग-२ मा दोस्रो

विश्वकप लिग-२ मा भने लामिछानेले दोस्रो धेरै विकेट लिने खेलाडी बन्दै शृङ्खला टुङ्ग्याए। उक्त शृङ्खलामा लामिछानेले कुल ७२ विकेट लिएका छन्।

लिग-२ मा दोस्रो स्थान हात पारेको ओमानका विलाल खान ७६ विकेट लिँदै पहिलो नम्बरमा रहे। करण केसीले लिग-२मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थान अनि समग्रमा छैटौँ स्थानमा रहे। उनले ५० विकेट लिएका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology