४ फागुन, नवलपुर
चालु आर्थिक वर्ष ०७९÷०८० को सात महिनामा नवलपुरमा ४७ वटा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । भने १ सय ४८ जना घाइते भएका छन् । जसमध्ये ६१ जना गम्भीर र ८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङकले देखाएको छ ।
प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै मंसिर महिनामा सवारी दुर्घटना धेरै भएको छ । यस्तै दुर्घटनाबाट सबैभन्दा धेरै पनि सोही महिनामा आठ जनाले ज्यान गुमाएका छन् । क्रमशः श्रावणमा ३ जना , भदौ, असोज र माघमा एक, एक जना , कात्तिकमा ६ जना र पुसमा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक एवम् प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा १ सय १३ वटा सवारी दुर्घटनाबाट ४६ जनाले ज्यान गुमाएका थिए । भने २ सय २० जना घाइते भएका थिए । ०७८ ÷०७९ मा ९५ वटा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु र २४८ जना घाइते भएको जनाएको छ । जिल्लामा साढे दुइ वर्षमा २६५ वटा सवारी दुर्घटना भएका छन् । भने एक सय नौँ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको र ६ सय १६ जना घाइते भएको प्रहरीले बताएको छ ।
साढे दुइ वर्षको सवारी दुर्घनाका तथ्याङ्क हेर्दा दुर्घटनामा केही कमी आएको छ । नवलपुर गण्डकी प्रदेश कै सबै भन्दा धेरै सवारी दुर्घटना हुने जिल्ला हो । यहाँ सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सकृयताका कारण दुर्घटना संख्या र मृतक संख्या घटेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम, कृतिम सडक दुर्घटना उद्दार तथा व्यवस्थापन सिमुलेसन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङलगायतका अभियान सञ्चालन गरेपछि दुर्घटना घटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनु भयो ।
प्रकाशित : २०७९ फागुन ४ गते २१:१७
Facebook Comment