नवलपुरमा रत्यौली गीत प्रतियोगिता हुँदै

NAWALPUR TIMES

नवलपुरमा रत्यौली गीत प्रतियोगिता हुँदै
rataulee ko ranko 3 1412018081719 Fotor 857x482 1

राजु चापागाईं/कावासोती :  नवलपुरको कावासोतीमा यहि फागुन ३ देखि सुरु हुने सातौं नवलपुर महोत्सवमा नेपाली समाजमा विवाहमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत गायन प्रतियोगिताको आयोजना गरिने भएको छ ।

दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाहरूले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदा सम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठानका संस्थापक सदस्य हरिप्रसाद न्यौपानेले बताउनु भयो ।

रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनहरुमा रत्यौली गीत समाजमा पाच्य हुने शब्दहरु समेटेर आउने गरेकाले महोत्सवहरुमा यस्ता प्रतियोगिताको आयोजना हुदाँ रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने न्यौपाने बताउनु हुन्छ । ’हिजोका दिनमा केही अश्लीलता थियो, अहिले समाज परिवर्तन भएको छ अश्लीलता हट्दै गएको छ, मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्छ’ , न्यौपानेले भन्नू भयो ।

रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाहरुले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजीले बताउनु हुन्छ । उहाँका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक तुल्याउने हुँदा यो गीत गाउँदा एउटी महिला नर्तकीका रुपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्ने तथा पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष बिजीका अनुसार रत्यौली गीत आफै रोचक हुन्छ भने नर्तकहरुको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाएका हुन्छन् । विगतका दिनहरुमा महिलाहरुले मात्रै प्रस्तुति दिने भएकाले पुरुषहरुले हेर्न नहुने र अश्लील हुने भएको भनिए पनि पछिल्लो समय समाजमा आएको परिवर्तन सँगै रत्यौली गीत सबैले हेर्न र सुन्न सकिने आएका बताउदै अध्यक्ष बिजीले यस्ता प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाईदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने बताउनु हुन्छ ।

रत्यौलीमा अश्लीलता हुने भन्दै आरोप लाग्ने गरेकाले समाजमा रत्यौलीनै गाउन प्रचलन बिस्तारै कम हुँदै जादा यसको संरक्षण गर्न महोत्सवमा प्रतियोगिताको आयोजना गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताउनु भयो । प्रतियोगितामा भाग लिन ईच्छुक महिला समूहले माघ २९ गते सम्म महोत्सवको सचिवालयमा समूह र आफुले गाउने रत्यौली
गीत दर्ता गर्नु पर्ने अध्यक्ष अर्यालले बताउनु भयो । दर्ता पछि निर्णायकले गीतमा अश्लीलता भएको पाएमा त्यस्ता गीत दर्ता गर्ने समूहलाई प्रतिस्पर्धा गर्न नदिने गरि प्रतियोगिताको आयोजना गरिएकाले प्रतियोगिता सभ्य हुने अध्यक्ष अर्याल बताउनु हुन्छ ।

पछिल्लो समय देशका विभिन्न भागमा आयोजना हुने गरेका मेला महोत्सवमा रत्यौली गीतले स्थान पाउदै जान लागे पछि सामाजिक विषयवस्तु समेटेर रत्यौली गाउन महिलाहरु समूह बनाएर भाग लिने गरेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology