माघ स्नान र स्वस्थानी व्रत समापन

NAWALPUR TIMES

माघ स्नान र स्वस्थानी व्रत समापन
InShot 20230205 070936920

सालिक राम कोइराला
२२ माघ,साँखु काठमाडौं

पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म साँखुको शाली नदीमा लाग्ने स्वस्थानी मेला आज सकिंदै छ। परापूर्व कालदेखि स्वस्थानी माताको व्रत,उपासना गरेर ईच्छाएको वर पाउने, धन-धान्य र दु:खबाट छुटकारा पाउने, बिछोडिएकासंग पुनर्मिलन हुने विश्वासले नेपाली समाजले प्रगाढ आस्थाका साथ शाली नदी स्नान र स्वस्थानी माताको पुजा-अर्चना गर्दै आइरहेको छ।

शाली नदी स्नान र मेला व्यवस्थापन यस पटक व्यवस्थित गरिएको छ। नदीमा स्नान गरेका महिलाको अर्धनग्न तस्विर र भिडियो खिच्ने कार्यको प्रहरीले निगरानी गरेको छ।मेला व्यवस्थापनमा प्रयाप्त शुरक्षाकर्मी परिचालन गरिएको छ। यस अतिरिक्त शाली नदीको शुन्दर ढंगले सरसफाईमा समेत ध्यान पुर्याईएको छ। जसका कारण श्रद्वालु भक्तजनहरू आनन्दपूर्वक स्नान र पुजा अर्चनामा व्यस्त रहेका छन्।

धार्मीक ग्रन्थ स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीका घर,घरमा पौष शक्लपूर्णिमादेखि स्वस्थानी माताको व्रत–उपासना गर्ने, कथा भन्ने र सुन्ने प्रचलन रहेको छ । स्वस्थानी कथा अनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी माताको व्रत लिएकि थिइन्। शाली नदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । गोमा ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज पाएकि थिईन्।

स्थानीय उमेश पण्डितका अनुसार भक्तजनले धन-दौलत प्राप्त गर्ने आसामा स्वस्थानी माताको उपासना शाली नदी क्षेत्रमा बसेर गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले नित्य महादेवको पुजा गर्दा फल पाइने जन विश्वास रहेको छ ।
शाली नदीक्षेत्र साँखु अहिले दुलहीझैँ सिँगारिएको छ। बिभिन्न किसिमका फुल प्रसाद र मणी,रत्न एवं शालीग्राम शंखको व्यापार व्यवसाय समेत संचालन गरिएको छ।

उहिल्यै यस क्षेत्रलाई लावण्य देश भनिन्थ्यो । कुनै समय यहाँ शङ्खदेव नामका राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यस अर्थमा यहाँको नाम शङ्खपुर र पछि शङ्खरापुर भनिन थालियो। शङ्खरापुरपछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो । हाल शङ्खरापुर नगरपालिका यसै नामले प्रसिद्ध छ ।
शाली नदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तल छन् । यहाँ सधैँजसो कथा प्रवचन भइरहन्छ ।

स्वस्थानी कथाअनुसार यहाँ चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सरा आएर यहाँ माघ स्नान र स्वस्थानी देवीको पूजा–उपासना गरेकाले यो क्षेत्र पुण्य क्षेत्र भएको हो । यसै क्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानी देवीको उपासना गरेकि हुन् भन्ने भनाई रहेको छ।

साँखु(शङ्खरापुर) प्राचीन समयदेखिनै पावन क्षेत्र हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्गमध्येको पावन ज्योतिर्लिङ्गेश्वर मन्दिर रहेको छ । परम्परागत शैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिङ्गेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तरसमेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खाली जमिन कैलाशक्षेत्र छ । गणेश, शिव, देवीका मन्दिर पनि रहेको यो क्षेत्रमा शाली नदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्ने गरेको छ। साँखु काठमाडौंबाट २० किलोमिटर पूर्वोत्तरमा रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology