प्रदेश सभाको समानुपातिक तर्फ राप्रपाबाट नवलपुरकी सुशीलाको सम्भावना बलियो

NAWALPUR TIMES

प्रदेश सभाको समानुपातिक तर्फ राप्रपाबाट नवलपुरकी सुशीलाको सम्भावना बलियो
received 672584984415453

कावासोती । राजेन्द्र लिङदेन अध्यक्ष बने पछि वैकल्पिक शक्तिको रुपमा अगाडि बढेको राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट गण्डकी प्रदेश सभामा आफ्नो उपस्थित देखाउने भएको छ ।

प्रदेश सभामा प्रत्यक्ष तर्फ कुनै पनि क्षेत्रमा जित हासिल गर्न नसके पनि समानुपातिक तर्फ २०७४ को निर्वाचन भन्दा तीन गुणा मत बढाएर राप्रपाले समानुपातिक तर्फ गण्डकीमा चौथो शक्तीको रुपमा आफुलाई उभ्याएको छ । स्याङजा २ को (क) र (ख) सहितका क्षेत्रको मतगणना गर्न बाँकी रहँदा राप्रपाले ५७ हजार ११६ मत ल्याइसकेको छ । यो मत अघिल्लो निर्वाचनको तुलनामा साढे तीन गुणा बढि हुन आउँछ ।

अघिल्लो निर्वाचनमा समानुपातिकबाट एक एक सांसद पाउने दुई दल थिए, राष्ट्रिय जनमोर्चा र तत्कालीन नयाँ शक्ति पार्टी नेपाल । जनमोर्चाले १९ हजार ३५६ र नयाँ शक्तिले २४ हजार ६२४ मत पाएका थिए ।

अहिले यी दुवै दलले त्यतिबेला पाएकाे मत जोड्दा पनि राप्रपा नै १० हजार बढी मतले अगाडि छ । यसको अर्थ, प्रत्यक्षमा एक सिट नजितेपनि गण्डकी प्रदेशमा राप्रपाको ‘इन्ट्री’ हुने निश्चय भएको छ ।

एमाले, कांग्रेस र माओवादीपछिको बढी मत पाएका कारण यसपटक यी चार दलले मात्रै गण्डकीमा समानुपातिक सांसद पाउने देखिएको छ । अघिल्लो निर्वाचनकै तुलना गर्ने हो भनेपनि एमाले १०, कांग्रेस ९, माओवादी केन्द्रले ३ सांसद पाउँदा बाँकी रहेका दुई सांसदको फाइदा भने राप्रपाले उठाउने छ ।

प्रदेशसभा समानुपातिकतर्फको अन्तिम बन्दसूची हेर्दा राप्रपाबाट यसपटक गोविन्दराज खनियाँ र सुशीलादेवी सापकोटा थापाको सम्भावना बढी देखिन्छ । समानुपातिक प्रणालीमा एकमात्रै सांसद पाउने अवस्था आयो भने महिलालाई अगाडि बढाउने विश्वव्यापी प्रचलन छ ।

गण्डकीमा अघिल्लोपटक समानुपातिकबाट एक-एक सिट जितेका नयाँ शक्ति र जनमोर्चाले आदिवासी/जनजाति समुदायका महिलालाई प्रदेश सांसद बनाएका थिए ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिक २०७९ अनुसार पनि गण्डकीमा बन्दसूची बुझाउँदा पहिलो क्लस्टरमा आदिवासी जनजाति र दोस्राे नम्बरमा खसआर्य बुझाउनुपर्छ । यो प्रावधानअनुसार राप्रपाबाट आदिवासी जनजाति महिलाको एक नम्बर सूचीमा रहेकी नवलपुरकी सुशीलादेवी सापकोटा थापाको प्रबल सम्भावना छ ।

दुई सांसद पाएको खण्डमा खसआर्यबाट गोविन्दराज खनियाँ प्रदेश सांसद बन्नेछन् । उनी लमजुङका हुन् । राप्रपाले यी दुई सांसदसहित गण्डकी प्रदेशमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology