यस्ता छन् कतार विश्वकपका रोचक तथ्य

NAWALPUR TIMES

यस्ता छन् कतार विश्वकपका रोचक तथ्य
al janoub stadium

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ ।

नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरु त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरु नोभेम्बर १२/१३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरु पुनः सुरु हुनेछन् ।

त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ ।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण हो ।

पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न समयका हिसावले नेपालीलाई पनि सहज हुनेछ ।

उदघाटन खेल समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ ।

पहिलो देखि ६१ औं वरीयतासम्मको टिम

कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छ । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टोली हो ।

कतार विश्वकप खेल्ने टिमको वरियता शीर्ष ६१ भित्रको रहेको छ । शीर्ष दश वरीयता भित्र रहेका मध्ये इटली भने यस पटक छनोट हुन सकेको छैन ।

एसियाबाट पहिलो पटक ६ राष्ट्र

विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।

कतार विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३ टिमले खेल्दैछन् । यस्तै अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान ४ टिमले कतार विश्वकप खेल्नेछन् ।

कतार पहिलो पटक खेल्दै

विश्वकप फुटबलको इतिहास झण्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकपमा पनि डेब्यू गर्दैछ ।

सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको थियो । यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । तर, यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।

सबै विश्वकप खेल्ने ब्राजिल एक्लो टिम

विश्वकप फुटबल भन्ने बित्तिकै धेरैको दिमाखमा आइराख्ने देश हो– ब्राजिल । फुटबल, ब्राजिल अनि महान खेलाडी पेले पर्यावाचीको रुपमा रहेको छ ।

ब्राजिलको नाममा अनौठो कीर्तिमान छ । फिफा विश्वकपका लागि छनोट चरण पार गर्नुपर्ने हुन्छ । अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । पेलेले तीन पटक विश्वकप जितेका छन् ।

ब्राजिल २२औं पटक विश्वकप खेल्दैछ । ब्राजिलपछि जर्मनी (सुरुमा पश्चिम जर्मनी) ले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ र मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् ।

आयोजक कतारले विश्वकपमा डेब्यू गर्दा क्यानडा दोस्रो पटक (सन् १९८६ पछि पहिलो) विश्वकपमा छनोट भएको छ । यस्तै २००२ र २०१८ मा विश्वकप खेलेको सेनेगल तेस्रो पटक छनोट भएको छ ।

चार पटकको च्याम्पियन इटली छनोट नै भएन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । जसले गर्दा केही नाम चलेका ठूला राष्ट्र समेत विश्वकपमा छनोट हुन असफल हुन्छन् ।

कतार विश्वकपमा नदेखिने सबैऐन्दा ‘ठूलो’ राष्ट्र इटली हो । युरोपियन राष्ट्र इटलीले ब्राजिलपछि ४ पटक विश्वकप उपाधि जितिसकेको छ । इटलीले पछिल्लो पटक सन् २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो ।

तर, गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा भने छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।

यस्तो छ कतार विश्वकपकोसमूह विभाजन

समूह ‘ए’- कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स

समूह ‘बी’- इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स

समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड

समूह ‘डी’- फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समूह ‘ई’- स्पेन, कोस्टारिका, जर्मनी, जापान

समूह ‘एफ’- बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

समूह ‘जी’- ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन

समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology