काठमाडौं । नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइतबार दक्षिण अफ्रिका आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ बाट बाहिरिएको छ । दक्षिण अफ्रिका बाहिरिएसँगै समूह–२ बाट भारतले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
समूह–२ मा पाँच खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्सले चौथो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । समान खेलबाट पाँच अंक जोडेको दक्षिण अफ्रिका पाँच अंकसाथ दोस्रो स्थानमै रह्यो ।
आजै हुने पाकिस्तान र बंगलादेशबीचको खेलको विजेता शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नेछ । दुवै टिमको समान चार अंक छ । समूहको शीर्ष स्थानमा रहेको भारत भने अन्तिम खेलमा जिम्बाब्वेसँग खेल्नुअगावै सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिकालाई कम योगफलमै रोक्न नेदरल्यान्ड्सबाट उत्कृष्ट बलिङ गरेका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । दुई ओभर बलिङ गरेका उनले नौ रन मात्र खर्चिए । फ्रेड क्लासेन र बास डे लिडेले दुई/दुई विकेट लिँदा पाउल भान मिकेरेनले एक विकेट झारे ।
दक्षिण अफ्रिकाका रेली रोसोउले २५ रन बनाए । हेनरिक क्लासेनले २१, कप्तान टेम्बा बवुमाले २०, आइदेन मार्करम र डेविड मिलरले समान १७ रन थपे । ओपनर क्विन्टन डी कक र केशभ महारेजले १३/१३ रन जोडे ।
यसअघि, टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले २० ओभरमा चार विकेट गुमाएर १५८ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका कोलिन एकरमनले ४१ रनको योगदान गरे । ओपनर स्टेफन माइबर्गले ३७, टम कुपमरले ३५, म्याक्स ओ‘डाडले २९ र कप्तान स्कट एडवार्डसले १२ रन जोडे ।
दक्षिण अफ्रिकाका केशभ महारेजले दुई विकेट लिँदा एनरिक नोट्जे र आइदेन मार्करमले एक/एक विकेट लिए ।
प्रकाशित : २०७९ कार्तिक २० गते ९:५६
Facebook Comment