नवलपुर । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ ।
आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकार दिए ।
समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।
साथै निर्धारित दुई दिनभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न आएमा दर्ता गरिदिने व्यवस्था मिलाउन पनि आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयहरूलाई आग्रह गरेको छ ।
प्रकाशित : २०७९ वैशाख ११ गते ८:१६
Facebook Comment