काठमाडौं । बुकायो साकाले आर्सनलबाट पेनाल्टीमा पहिलो गोल गरेको दिन लन्डन क्लबले बुधबार राति इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि ४–२ को विजय हासिल गरेको छ । यससँगै आर्सनलले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको छ ।
भ्रमणकारी आर्सनलले दुईपटक अग्रता लिए पनि चेल्सीले बराबरी गरेको थियो । तर, दोस्रो हाफमा इडवार्ड एनकेटिया र साकाले गोल गरेपछि आर्सनलले सहज जित निकाल्न सफल भएको हो । आर्सनलले एनकेटियाको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । १७औं मिनेटमा टिमो वेर्नरले बराबरी गोल फर्काए । २७औं मिनेटमा इमिल स्मिथ रोवेले गरेको गोलबाट आर्सनलले पुनः अग्रता लियो । त्यसको पाँच मिनेट वित्न नपाउँदै चेल्सीका सेसर एज्पिलिक्वेटाले बराबरी गोल फर्काए ।
तर, यसपटक भने २० वर्षे साकाले गोल गर्दै आर्सनलको तीन खेलसम्मको पराजित यात्रामा पूर्णविराम लगाउन सफल भए । लिगमा अब ६ खेल बाँकी हुँदा आर्सनल ५७ अंकका साथ पाँचौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमसँग बराबरी हो । पराजित चेल्सी ६२ अंकका साथ तेस्रो स्थानमा छ । चेल्सीले एक खेल कम खेलेको छ ।
बेलयात सरकारले चेल्सीका मालिक रोमन अब्राहिमोभिचलाई प्रतिबन्ध लगाउँदै लन्डन क्लबलाई नयाँ टिकट बिक्री गर्न रोकेको थियो । जसका कारण गएराति रंगशालामा ६ हजार सिट खाली थियो ।
प्रकाशित : २०७९ वैशाख ८ गते ९:३०
Facebook Comment