लुम्बिनीः पैँतीस वर्षदेखि निरन्तर कसरी बलिरहेको छ शान्तिदीप

NAWALPUR TIMES

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको केही मिटर उत्तरतर्फ लाग्दा एउटा ठूलो खालको पालामा बत्ती बलिरहेको देखिन्छ।

सो बत्तीलाई शान्तिदीप भन्ने गरिएको छ।

अहिले सोही बत्तीलाई बीचमा पारेर दक्षिणदेखि उत्तरतर्फ १,६०० मिटर लम्बाइ र १६ मिटर चौडाइको नहर बनाइएको छ।

लुम्बिनी विकासका लागि बनाइएको गुरुयोजनामा यस्तो नहर बनाउने योजना भए पनि त्यहाँ राख्ने भनी गुरुयोजनामा कतै पनि उल्लेख गरिएको छैन।

कसरी बल्न थाल्यो शान्ति दीप?

लुम्बिनी विकास कोषमा पुरात्त्वविद्‌का रूपमा लामो समय काम गरेका वरिष्ठ पुरात्त्वविद्‌ वसन्त बिडारीका अनुसार यो दीप २०४३ साल कार्तिक १५ (नोभेम्बर१, १९८६) देखि लुम्बिनीमा बल्न थालेको हो।

“सन् १९८६ लाई संयुक्त राष्ट्रसङ्घले शान्ति वर्षको रूपमा मनाउने क्रममा राष्ट्रसङ्घको कार्यालय न्यूयोर्कमा मशाल प्रज्वलित गरिएको थियो। त्यही मशालको ज्वाला लुम्बिनीमा ल्याए शान्ति दीपमा सल्काइएको हो,” बिडारीले बीबीसीसँग भने।

उनी भन्छन्, “यो कतै लेखेको त पाइँदैन। तर त्यो ज्वाला न्यूयोर्कबाट लुम्बिनी ल्याउनुअघि विश्वका विभिन्न ५६ वटा देशमा घुमाइएको बताइन्छ।”

लुम्बिनीमा पूर्वराजा अर्थात् त्यो समयका अधिराजकुमार ज्ञानेन्द्र शाहले दीप प्रज्वलन गरेका थिए ।

दीप राखेको ठाउँ उपयुक्त होइन’

“मभित्रको अँध्यारो प्रकाशमय होओस्” भनेर बौद्धमार्गीहरूमा बत्ती बाल्ने चलन भए पनि लुम्बिनीमा शान्ति दीप राखिएको ठाउँ उपयुक्त नभएको कतिपय पुरातत्त्वविद्को तर्क छ।

बिडारीका अनुसार गुरुयोजनामा नहर हुदै आएका मानिसहरू त्यो ठाउँमा ओर्लेर मायादेवी मन्दिर जाने परिकल्पना गरिएको छ। तर ओर्लिनेबित्तिकै शान्तिदीप देख्दा केके नमिले जस्तो देखिन्छ ।

केबाट बल्छ बत्ती?

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार दीप बाल्नका लागि लुम्बिनी विकास कोषले एलपी ग्यासका १५ वटा सिलिन्डरको व्यवस्था गरेको छ।

सिलिन्डरबाट पाइपमार्फत् क्रमैसँग शान्ति दीपसम्म ग्यास पुर्‍याइन्छ।

हिसाबकिताब छैन

करिब ३५ वर्षदेखि लुम्बिनीमा निरन्तर बलिरहेको शान्ति दीपमा लाग्ने ग्यासको खर्चको छुट्टै हिसाबकिताब भने लुम्बिनी विकास कोषले राख्ने नगरेको कोषका लेखा अधिकृत भीम बस्नेतले बताए।

“शान्तिदीपमा लाग्ने ग्यासको अलग्गै हिसाबकिताब त केही छैन। तर अहिलेसम्म दिनको एक सिलिन्डर जति ग्यास आवश्यक पर्छ,” बस्नेतले बीबीसीसँग भने।

यो हिसाबले अहिलेको मूल्यअनुसार लुम्बिनीमा शान्तिदीप बाल्न दैनिक १,६०० रुपैयाँभन्दा बढी लाग्छ भने मासिक करिब ४९ हजार रुपैयाँ र वार्षिक करिब ६ लाख रुपैयाँ खर्च हुने देखिन्छ।

“ग्यासका सिलिन्डर खाली राख्दैनौँ, सकिन लाग्दा लाग्दै अर्को सिलिन्डरबाट ग्यास जाने व्यवस्था गरिएको छ,” राईले भने।-बिबिसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology