विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन

NAWALPUR TIMES

विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन
Binod Chaudhary

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । सोही पदकालागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र छैटौं स्थानमा रहँदै पराजित भएका थिए ।

यादवको उजुरीबारे चौधरीले भनेका छन्, ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology