धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, पर्वतारोहणमा नजान आग्रह

NAWALPUR TIMES

धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, पर्वतारोहणमा नजान आग्रह
Weather rain
काठमाडाैं – आज देशका धेरै ठाउँमा मौसम बद्ली हुने भएकाे छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो।

मौमसविद् समिर श्रेष्ठअनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

मौसमविद्का अनुसार शुक्रबार पनि मौसम यस्तै रहने छ।शनिबारदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको हो।

यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ। यस्तै, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology