‘ओमिक्रोन’ को संक्रमण विश्वव्यापी हुनसक्ने डब्ल्यूएचओको चेतावनी

NAWALPUR TIMES

‘ओमिक्रोन’ को संक्रमण विश्वव्यापी हुनसक्ने डब्ल्यूएचओको चेतावनी
New Corona virus

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वव्यापी हुन हुनसक्ने चेतावनी दिएको छ।

साथै डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने समेत चेतावनी दिएको छ।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रियसिस गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन्।
‘ओमिक्रोन’ को संक्रमण विश्वव्यापी हुनसक्ने डब्ल्यूएचओको चेतावनी 1

यो महिनाको सुरुमा ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणका आधारमा यसको संक्रमण जोखिम धेरै रहेको पाइएको छ।

भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको बीबीसीले जनाएको छ।

डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ या छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले के कस्तो काम गर्छ भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन्।

नयाँ भेरियन्टका कारण अहिलेसम्म ज्यान गएको भेटिएको छैन । नयाँ भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्डलगायत देशमा देखिइसकेको छ।

नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली संघले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन्।

इजरायल, जापान र अस्ट्रेलियाले पनि सीमामा कडाइ गरेका छन्। अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र दक्ष कामदारका लागि आउँदो डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ।

बेलायतमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउने घोषणा गरेका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology