तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपति भण्डारीको विश्वास

NAWALPUR TIMES

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपति भण्डारीको विश्वास
bidhyaa 11

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि हो”, राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “दिपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।”

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ । “तिहारका अवसरमा देउसी, भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउँछ”, शुभकामना सन्देशमा भनिएको छ, “यसका साथै देउसी, भैलोको दक्षिणाबाट सङ्कलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटीपौवाको निर्माण तथा मर्मतसम्भारजस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परासमेत तिहार पर्वसँग जोडिएका छन्, हाम्रा चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

बडादसैँ पर्वको रमझम सकिएलगत्तै कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको मौलिक चाडका रूपमा रहेको छ । यमपञ्चकसमेत भनिने तिहार पर्वमा काग, कुकुर, गाईगोरूलगायत पशुपक्षीका साथै धन, ऐश्र्वयकी देवी लक्ष्मीको पूजा, दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी, भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology