हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

NAWALPUR TIMES

हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन
का

गलेश्वर । बडादशैं घर आँगनमा भित्रिइसकेको छ। पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दशैं सुरुआत हुने गर्दछ। दशैं सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो। रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दशैंकाे उत्सव सुरु हुने गर्दछ। विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिँदै गएका छन्।

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ। ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन्। बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८५ वर्षीय बाबुराम उपाध्यायले बताए।

एक समय थियो, दशैं भित्रँदै गर्दा रातो माटो र कमेरोले घर, आँगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो। बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटेपिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीय वृद्धवृद्धाको भनाइ छ।

दसैँमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर बेनी –२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्लाभरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो। दशैं सुरु हुनुभन्दा चार/पाँच दिनअघिदेखि नै रातो माटो र कमेराका मड्किनामा स्कुलका विद्यार्थीदेखि लिएर गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो। अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगण्य रहेको स्थानीय हेमकुमारी सापकोटाले बताइन्।

यसैगरी दशैंका लागि आवश्यकपर्ने चिउरा, चामल आदि खाद्यान्न ढिकीजाँतोमा कुट्ने, पिध्ने गरिन्थ्यो। अहिले यी सबै चलन हराउँदै गएका छन् । गाउँघरमा ढिकी, जाँतोका आवाज सुनिन छाडेको छ। यस्ता साधनमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिकी, जाँतोदेखि नै छाडेका छन्। दसैँ पहिलेकोभन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुककोटका रामकृष्ण घिमिरेले बताए।

“रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ) लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एक सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । गोरेटोबाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप हँुदै गएका छन् । दसैँका लागि आवश्यकपर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिकी, जाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसैँको मौलिकता नै हराउँदै गएको छ”, रणबाङका पं हरिकृष्ण पौडेलले भने।

मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दसैँ पनि महँगो बन्दै गएको स्थानीयको बुझाइरहेको छ । पहिला पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दसैँ मनाइन्थ्यो भने अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दसैँ दशा बन्न थालेको बुद्धिजीवीले बताएका छन्।

रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दसैँको आभास हुने गरेको थियो । अहिले यी सबै कुरा हराउँदै जाँदा पुरानो मैलिकता नै लोप हुँदै गएको र रमाइलो कम हुँदै गएको छ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology