अप्रिय घटना हुने डरले जमरा नराख्ने माझी समुदाय

NAWALPUR TIMES

अप्रिय घटना हुने डरले जमरा नराख्ने माझी समुदाय
14403814majhi society

नवीन शिशिर विक
बागलुङ, असोज २० गते । बागलुङ नगरपालिका–१ खनियाबासका कृष्ण माझी उमेरले ३४ वर्ष पुगे । आफू जान्ने बुझने भएपछि उनले घरमा दशैंको टीका लगाए पनि जमरा राखेको थाहा छैन । दशैंको दिन टीका जमरा त लगाउँछन् तर जमरा मागेर । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले उनीहरुले झमरा राख्दैनन् ।

“यहीँ जन्मेँ यहीँ हुर्कें ३४ वर्षीय कृष्ण माझीले भन्नुभयोे– ‘अहिलेसम्म जमरा राखेको थाहा छैन ।’ हाम्रो समुदायमा पहिलेदेखि नै चलेको चलन हो । परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् ।’

कृष्ण मात्र हैन माझी समुदायम कै विहेबारी भएर आएकी फूलमाया माझी पनि वर्षौं भयो दशैंको बेलामा सासू ससुराले जमरा राखेको देख्नुभएको छैन, आफूले पनि जमरा राख्ने आँट गर्नुभएको छैन ।

‘माझी भए पनि हाम्रो माइतमा त जमरा राख्नुहुन्छ,’ उहाँले भन्नुभयो ‘खै कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’  ‘जिजु बाजेको पालामा त जमरा राख्थे रे, कुन्नी के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ,’ उहाँले थप्नुभयो– ‘खनियाबास र मालढुङ्गामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

घरमा जमरा नरोख पनि माझीहरुले दशैं भने आफ्नो क्षमता र बर्कत अनुसार धुमधामसँगै मनाउँछन् । अर्काकै घरबाट जमारा लिएर भए पनि जमरा टीका लगाउने, मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजु बाजेको पालादेखि नै घरमा दशैंका लागि जमरा राख्न छोडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

‘जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छोडिएको रहेछ’ उहाँले भन्नुभयोे– वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे ।’

दशैं मनाउन छोडिएन, त्यसका लागि जमरा चाहियो, अरुसँग मागेर भए पनि दशैं मनाइन्छ,’ उहाँले भन्नुभयो । अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैंमा लगाउने गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology