चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २० गते १०:३७
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेल बताउँछिन् ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको संभावना रहेको मौसमविद् पोखरेल बताउँछिन् ।

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

यद्यपि, अघिल्ला दिनहरुको तुलनामा केही कम वर्षा हुने छ । “तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केहीदिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन,” मौसमविद् विभूति पोखरेल भन्छिन्, “केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुने सम्भावना रहन्छ । सामान्य र मध्यम वर्षा भने हुने नै छ ।” अघिल्लो हप्ता देशका धेरै स्थानमा अति भारी वर्षा भएको थियो । जसका कारण पहिलो तथा बाढी आएको थियो । पहिरोले जनधनको क्षति पुर्याएको थियो । राजमार्गहरुमा पहिरो जाँदा सवारी आवगाम प्रभावित भएको थियो । अझै कतिपय सडक अबरुद्ध नै छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा आगामी तीनदिन भारी वर्षाको सम्भावना न्यून छ । तर, सामान्य न्युन वर्षा भने जुनसुकै बेला हुने छ । आज काठमाडौं उपत्यकामा अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् पोखरेल बताउँछिन् ।

प्रकाशित : २०७८ असार २० गते १०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI